Kath khabar
मणिपुरमा महिलामाथि दुर्व्यवहार सामूहिक बलात्कार र हत्याको कसुरमा ४ जना पक्राउ

 

               मणिपुर, साउन ५ ।  भारतको मणिपुर राज्यमा महिलामाथि दुर्व्यवहार गरेको आरोपमा ४ जना पक्राउ परेका छन् ।

जातीय हिंसाका कारण साढे २ महिना देखि अशान्त रहेको मणिपुरमा २ महिलालाई निर्वस्त्र बनाएर घुमाइएको भिडियो सार्वजनिक भए पछि घटनामा संलग्न रहेको आशङ्कामा ४ जनालाई पक्राउ गरेको स्थानीय प्रहरीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

घटनामा संलग्न अन्य माथि अनुसन्धान भइरहेको र उनीहरु विरुद्ध अपहरण, सामूहिक बलात्कार र हत्याको कसुरमा मुद्दा दायर गरिएको छ । कुकी समुदायका २ महिलालाई मैतेई समुदायका व्यक्तिले यौन दुर्व्यवहार गरेका खबरमा उल्लेख छ । भिडियोमा देखिएका महिलाहरूको उमेर २० र ४० वर्ष हाराहारी रहेको बताइएको छ । ती महिलाले आफ्नो जाहेरीमा भिडियोमा नदेखिए पनि अर्की ५० वर्षीया महिलालाई पनि निर्वस्त्र हुन बाध्य पारेका बताएका छन् । प्रहरीमा परेको जाहेरी अनुसार १ युवती माथि सामूहिक बलात्कार पनि भएको द वायरले जनाएको छ । 

पीडित महिलाका अनुसार घटनाको अघिल्लो दिन करिब १ हजार व्यक्तिले उनको गाउँमा लुटपाट गर्ने उद्देश्यले आक्रमण गरेका थिए । उनीहरूले बस्तीमा आगो लगाइदिएका थिए । त्यसपछि पीडितहरू दुई महिला, एक युवती आफ्नो बुबा र भाइको साथमा जंगलतर्फ भागेका थिए । पछि उनीहरूलाई प्रहरीले उद्धार गरेर प्रहरी कार्यालयमा लैजाँदै थियो । आक्रमणकारीले बाटोमै प्रहरीबाट थुतेर उनीहरूलाई नियन्त्रणमा लिएको र निर्वस्त्र बनाएर घुमाएको पीडितले बताएका छन् । त्यस क्रममा युवती माथि सामूहिक बलात्कार भएको थियो भने आक्रमणकारीले उनका बुबा र भाइलाई मारेका थिए ।

भिडियो सार्वजनिक भएपछि राजधानी नयाँदिल्ली र मणिपुरका विभिन्न स्थानमा प्रदर्शन भएको छ । सरकारले मणिपुर हिंसालाई समयमै रोक्न असफल भएको भन्दै विपक्षीले आलोचना गरेका छन् । प्रदर्शन चर्किन सक्ने भएपछि राज्य सरकारले इम्फाल इस्ट, इम्फाल वेस्ट, विश्नुपुर, काकचिंग र थोबल गरी ५ जिल्लामा कर्फ्यु जारी गरेको छ ।

मणिपुर प्रहरीले घटना गएको मे ४ तारिखमा भएको जनाएको छ । तर भिडियो भने अस्ति सार्वजनिक भएको थियो । मणिपुरमा मे ४ तारिखको अघिल्लो दिनदेखि जातीय हिंसा शुरु भएको थियो । यो घटनालाई लिएर धेरैले सरकारको चर्को आलोचना गरेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीमाथि दबाब बढेको छ ।

मोदीले घटनाको भर्त्सना गर्दै दोषीलाई कारबाही हुने प्रतिबद्धता जनाउनु भएको छ ।

 

प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  १६:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update