Kath khabar
राष्ट्रिय वाणिज्य बैंक मार्फत विदेशबाट अब निशुल्क मनी ट्रान्सफर गर्न सकिने



                         काठमाडौं, साउन २२ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्ना ४० लाख भन्दा बढी ग्राहकलाई डिजिटल बैंकिङ्ग मार्फत नयाँ नयाँ सुविधाहरू दिदै आइरहेको जानकारी दिएको छ ।

बैङ्कले आफ्नो वेबसाइट, मोबाइल बैंकिङ्ग (डिजिटल संसार) तथा इन्टरनेट बैंकिङ्गको पोर्टलमा रहेको आरबीबी रिक्वेस्ट रेमिटबाट सजिलै अमेरिका, अष्ट्रेलिया, युरोप, गल्फ लगायत विश्वको जुनसुकै देशमा बस्ने व्यक्तिले एक क्लिकमा नेपालमा रेमिट्यान्स पठाउन सकिने आरबीबी रिक्वेस्ट रेमिट सुविधा सञ्चालनमा ल्याएको छ ।

यो सुविधा अन्तर्गत विश्वको जुनसुकै देशमा रहेका व्यक्तिले आफ्नो क्रेडिट कार्ड, डेबिट कार्ड, बैंक डिपोजिट, अनलाइन बैंकिङ्ग र ट्रान्सफर प्रयोग गरी बैंकको आरबीबी रिक्वेस्ट रेमिट पोर्टलको सेन्ड रेमिट मार्फत रकम पठाउन सक्नेछन् । साथै, नेपालमा बस्ने व्यक्तिले पनि विदेशमा बस्ने आफन्तलाई रकमका लागि यो पोर्टल मार्फत अनुरोध गर्न सक्नेछन् । यसरी रकम पठाउँदा ग्राहकलाई कुनै पनि शुल्क लाग्ने छैन भने रेमिट्यान्स पठाएको केही मिनेटमै नेपालमा रहेको कुनै पनि बैंक खातामा (ग्राहकले भरेको) रकम डिपोजिट हुनेछ । ग्राहकले विनिमय सटही दर पनि हेर्न सक्नेछन् ।

राष्ट्रिय वाणिज्य बैंक र ललित मनी ट्रान्सफरको सहकार्यमा यस्तो सुविधाको व्यवस्था भएको हो । यस कार्यकालका लागि ललित मनी ट्रान्सफरको विदेशी साझेदारी अनलिमिटेड रेमिटसँग रहेको छ । ग्राहकहरुले सुरक्षित रुपमा बैंकको वेबसाइट मोबाइल बैंकिङ्ग (डिजिटल संसार), तथा इन्टरनेट बैंकिङ्गको पोर्टल  वा सोझै आरबीबी रेमिटबाट बिना झन्झट एकै क्लिक गरी घरमै बसेर पठाउने र पाउने दुवैले रेमिटेन्स सुविधाको उपयोग गर्न सक्नेछन् । न त बैंक नै जानुपर्ने न त अन्यत्रै धाउनुपर्ने । आफ्नो भनेको आफ्नै हुन्छ । माया गर्ने आफ्नैले त हो नी । तपाईँको आफ्नै बैंक राष्ट्रिय वाणिज्य बैंक, भन्ने नारा सहित बैंकले यो सेवा सुरु गरेको जानकारी दिएको छ ।

बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २८२ वटा शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, २६९ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ, क्यु आर कोड सेवा, पस (प्वाईन्ट अफ सेल) सेवा, क्रेडिट कार्ड, डेबिट कार्ड, कनेक्ट आईपीएस, स्मार्ट क्यु आर टेलर (बिना चेक रकम झिक्न सकिने), ईन्टरनेट बैंकिङ, परिष्कृत रूपको मोबाइल बैंकिङ्ग तथा बिना इन्टरनेट चल्ने युएसएसडी मोबाइल बैंकिङ्गका सेवाहरु समेत सञ्चालनमा रहेका छन् ।

प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  १६:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update