Kath khabar
ग्लोबल आइएमई बैंकद्वारा क्यास तथा चेक डिपोजिटर मेशिन सञ्चालन



               काठमाडौं, भदौ १८ । ग्लोबल आइएमई बैंक लिमिटेडले नगद तथा चेक जम्मा गर्ने मेशिन सञ्चालनमा ल्याएको छ । मेशिन सञ्चालनमा आएसँगै आफ्नो अनुकूल समयमा बैंकमा रहेका क्यास तथा चेक डिपोजिटर मेशिन मार्फत ग्लोबल आइएमई बैंकमा रहेको खातामा नगद जम्मा गर्न सकिनेछ ।

बैंकले ५ वटा क्यास डिपोजिटर र ५ वटा चेक डिपोजिटर मेशिन सञ्चालनमा ल्याएको हो । बैंकले काठमाडौँ उपत्यकामा कमलादी र न्युरोड तथा उपत्यका बाहिर इटहरी, नारायणगढ र बुटवल शाखामा क्यास डिपोजिटर मेशिन सञ्चालनमा ल्याएको छ भने काठमाडौँ उपत्यकाभित्र कमलादी, न्युरोड, कुलेश्वर तथा काठमाडौँ उपत्यका बाहिर पोखरा र वीरगञ्ज शाखामा चेक डिपोजिटर मेशिन सञ्चालनमा ल्याएको हो ।

बैंकको कमलादी शाखामा आयोजित एक कार्यक्रमबीच नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा बैंक सञ्चालक समितिमा अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त मेशिनको उद्घाटन गर्नुभएको हो । उद्घाटनका अवसरमा अध्यक्ष ढकालले प्रविधिको विकास र आम उपभोक्ताको आकांक्षा अनुरुप वित्तीय क्षेत्र विश्वभर नै द्रुत गतिमा परिवर्तन भइरहेको बताउनुभयो ।  उहाँले ग्लोबल आइएमई बैंकले पनि समयानुकूल नयाँ प्रविधिलाई आत्मसाथ गर्दै अघि बढ्दै गरेको बताउँदै आजको यो मेशिन उद्घाटन पनि त्यसकै उदाहरण भएको बताउनुभयो ।

“यो मेशिन इफिसिन्यसी, सुविधा र सुरक्षाको मिश्रण हो । यसले ग्राहकलाई आफ्नो अनुकूल समयमा, विना कुनै कागजी प्रकृया सुविधाजनक हिसाबले क्यास तथा चेक डिपोजिट गर्न सहयोग पुग्नेछ । समयको बचत हुनेछ । २४ घण्टा सेवा उपलब्ध हुने हुँदा सेवा आफ्नो अनुकूल लिन सकिनेछ,” उहाँले भन्नुभयो ।  यसका साथै ग्लोबल आइएमई बैंक आफ्ना ग्राहकहरुवर्गलाई सदैव नविनतम् प्रविधि प्रदान गर्न तत्पर रहेको जानकारी गराउनुभयो ।

ग्लोबल आइएमई बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३४८ शाखा कार्यालय, ३६९ एटिएम, ३२२ शाखा रहित बैंकिङ्ग सेवा, ६४ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट ४० लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  १३:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update