Kath khabar
देशका धेरै ठाउँमा बिहानैदेखि वर्षा, दिनभरी हल्कादेखि मध्यम वर्षाको सम्भावना

 

                 काठमाडौं, भदौ २६ । आज काठमाडौंसहित देशका धेरै ठाउँमा बिहानैदेखि पानी परिरहेको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक-दुई स्थानमा बिहानैदेखि हल्का वर्षा भइरहेको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार बागमती प्रदेशका एक-दुई स्थानमा मध्यम वर्षा भइरहेको छ ।

हाल मनसुनको न्यूनचापीय रेखाको पश्चिमी भू-भाग सरदर स्थानको उत्तरतिर अवस्थित छ र पूर्वी भू-भाग सरदर स्थानको दक्षिणतिर अवस्थित छ । साथै बङगालको खाडीको उत्तर-पश्चिम र आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् अधिकारीले बताउनुभयो ।

यसैगरी आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाद्वारा प्रकाशित बुलेटिनमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  १०:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update