Kath khabar
गाईको गोबरबाट धुपबत्ती र दियो बनाउंदै कैलालीबासी

 

                  कैलाली, असोज २१ ।  कैलालीको टीकापुरस्थित टीकापुर गौशालाले गाईको गोबरबाट धुपबत्ती र बत्ती बाल्ने दियो बनाउन शुरुवात गरेको छ । सामुदायिक पशु चौपाया व्यवस्थापन तथा प्रवर्द्धन समिति टीकापुर गौशालाले ३ चरणको परीक्षण पछि धुपबत्ती बनाउन थालनी गरेको  हो ।

टीकापुर गौशालाका सचिव द्धारिकाप्रसाद जोशी र सदस्य उपेन्द्र न्यौपानेले धुपबत्ती र गोबरका सामग्री निर्माणबारे भारतको काशीपुर गएर तालिम लिएर आउनुभएको छ । तालिम पछि धुपबत्ती र दियो बनाउन धमाधम भइरहेको बताइएको छ । पहिलो चरणमा सय ‘प्याकेट’ निर्माणपछि बजारमा बिक्री गर्ने तयारी रहेको सदस्य उपेन्द्र न्यौपानेले जानकारी दिनुभयो । ‘गाईको गोबर प्रयोग गरी बनाइएको धुपबत्तीको सुगन्ध हवन गरेको जस्तो आउने, वातावरणका हिसाबले पनि राम्रो हुन्छ,’ उहाँले भन्नुभयो ‘यसरी विभिन्न सामग्री निर्माण गरी भएको आम्दानी गाई संरक्षणमा खर्च गरिनेछ । यो धुपबत्ती बजारमा पाइने केमिकल मिसावट धुप भन्दा स्वास्थ्यका हिसाबले पनि लाभदायक छ ।’

गौशालाले शुरुमा गाईको गोबरबाट ५५ घरमा ग्यास वितरण, गाईको गोबर मल बिक्री शुरु गरेको छ । दीपावलीलाई लक्षित गरेर धुपबत्ती र विभिन्न प्रकारका दियो बनाउन थालिएको छ । गौशालाले यससँगै नम्बरप्लेट, शुभलाभका चित्र, भगवानका मूर्ति, प्रमाणपत्र लगायतका सामग्री निर्माण गर्ने योजना रहेको गौशालाका सचिव जोशीले बताउनुभयो  । ‘गाईको गोबरबाट विभिन्न सामग्री बनाउन सकिनेरहेछ,’ उहाँले भन्नुभयो, ‘यी विभिन्न सामग्री निर्माणका लागि मेसिन खरिद गर्ने तयारी गरेका छौँ । उच्च रक्तचापका बिरामीका लागि चाहिने सामग्री पनि बनाउने तयारी छ ।’

गौशालाले श्रीमद्भागवत् महायज्ञ गर्ने, कथावाचकले गौशालामा उत्पादन भएका सामग्रीको बजारीकरणमा सघाउने सल्लाह भइरहेको उहाँको भनाइ छ ।

सामुदायिक पशु चौपाया व्यवस्थापन तथा प्रवर्द्धन समिति टीकापुर गौशालाले अहिले ७३० गाई संरक्षण गरिरहेको छ । यसरी विभिन्न सामग्री समेत उत्पादन थाले पछि केही युवाले रोजगारी पाउने बताइएको छ । केही वर्षदेखि नगरपालिकाले सञ्चालन गर्दै आएको गौशाला गएको जेठ महिना देखि समितिले सञ्चालन गरिरहेको छ । गौशालामा रहेका गाईको व्यवस्थापन समिति आफैँले खर्च व्यर्होने गरेको छ ।

प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  १२:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update