Kath khabar
नवरात्रको छैटौँ दिनआज कात्यायनी देवीको पूजा आराधना गरिँदै

 

                    काठमाडौं, कात्तिक ३ । बडादशैंअन्तर्गत नवरात्रीको छैटौं दिन आज नवदुर्गाका स्वरुपहरुमध्ये कात्यायनी देवीकोे पूजाआजा गरिंदैछ ।

घटस्थापना गरेसँगै नवदुर्गाका ९ वटा रूपहरूको पूजा गर्ने धार्मिक प्रचलन छ। आज देवी दुर्गाका स्वरूपमध्ये अष्टमातृका भगवतीको छैटौं शक्तिका रूपमा प्रादुर्भाव भएकी कात्यायनी भगवतीको पूजा गरिन्छ। कात्यायिनी भगवतीको पूजा गरे रोग, शोक, भय, दुःख दरिद्रजस्ता संकट नाश हुने धार्मिक विश्वास रहेको पाइन्छ । हिन्दु धर्मशास्त्रमा उल्लेख भएबमोजिम प्राचीन युगमा कात्या नाम गरेका महर्षिका छोरा कात्यायान ऋषिको छोरीको रूपमा भगवतीले जन्म लिएको हुनाले उनको नाम कात्यायनी रहन गएको कथन देवीभागवत पुराणमा उल्लेख छ ।

नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।

आजपनि देशभरका नवदुर्गा मन्दिर र शक्तिपीठहरुमा बिहानैबाट भक्तजनहरुको भीड लागेको छ । राजधानीका गुहेश्वरी, मैतीदेवी, दक्षिणकाली, कालिकास्थान, शोभाभगवती, तलेजुभवानी र विजेश्वरीमा दर्शनार्थीको भिड लागेको छ । त्यस्तै, नक्साल भगवती, भद्रकाली र इन्द्रायणी लगायतका दुर्गादेवीका शक्तिपीठहरुमा दर्शनार्थीको भिड लागेको छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३, २०८०  ०९:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update