Kath khabar
आज कोजाग्रत पूर्णिमा, बडादशैंको समापन गरिदैँ

 

                    काठमाडौं, कात्तिक ११ । यो वर्षको बडादशैं आजवाट समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो दशैँ सकिन्छ।

आजको दिन सायंकालमा महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वास रहेको छ।

माता दुर्गाका तीनवटा रुपमध्येका एक रुप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ । नवरात्र विजयादशमीकै दिन सकिने भएपनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ। लक्ष्मीपूजाको १५ दिन अघि महालक्ष्मीको पूजा, आराधना गरिने भएकाले यस पर्वको विशेष महत्व छ ।

शास्त्र अनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिल बलिपूर्तिको काम भने शुक्रबार नै समापन भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । अखिल बलिपूर्ति भएसँगै विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने क्रम पनि शुक्रबार नै समाप्त हो । शुक्रबार नै जमरालाई नजिकको नदी, तलाउ, पोखरी आदि पवित्र तीर्थस्थलमा लगी सेलाइएको छ ।

यो पूर्णिमालाई कौमुदी पनि भनिन्छ । आज राति जुवा खेल्ने विधान समेत रहेको छ । महालक्ष्मीसँगै आज हात्तीमा चढेका इन्द्रको पनि पूजा गर्नुपर्छ । कार्तिक स्नान गरी तुलसीको विशेष रुपमा गरिने पूजा आराधना पनि आजैदेखि सुरु गरिँदैछ । आकाशदीपदान पनि आजै साँझदेखि सुरु गरिने जनाइएको छ ।

आश्विन शुक्ल पूर्णिमाका अवसरमा आज खण्डग्रास चन्द्रग्रहण पनि लाग्ने समितिले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक ११, २०८०  ०७:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update