Kath khabar
एन आई सी एशिया बैंकद्धारा प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा ५१ लाख सहयोगको घोषणा


                  काठमाडौं, कात्तिक १९ । एन आई सी एशिया बैंक लिमिटेडले जाजरकोट भूकम्पबाट प्रभावितहरुको लागि उद्दार तथा राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा ५१ लाख नगद सहयोग रकम प्रदान गर्ने घोषणा गरेको छ ।

२०८० कात्तिक १७ गते राती कर्णाली प्रदेशको जाजरकोट जिल्ला केन्द्र विन्दु भई गएको विनाशकारी भूकम्पले जाजरकोट, रुकुमपश्चिम लगायत वरपरका जिल्लामा परेको ठूलो जनधनको क्षतिमा राहत उपलब्ध गराउन उक्त रकम बैंकले उपलब्ध गराउने घोषणा गरेको हो । यस विनासकारी भूकम्पमा परी ज्यान गुमाउने सम्पूर्णमा बैंक परिवार हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइते हुनुभएका सम्पूर्णका शीघ्र स्वास्थ्यलाभको कामना समेत गर्दछ, बैंकले बिज्ञप्ती मार्फत भनेको छ ।

एन आई सी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैंकहरू मध्येको बैंक हो । यस बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६४५ एटिएम, ११० वटा विस्तारित काउन्टर एवं ६१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ ।

देशको अर्थतन्त्रको सबलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुर्‍याउन उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै स्थापनाकालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल रू. २३ अर्ब ५८ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा रू.३ अर्ब ६६ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाउन बैंक सफल भएको छ ।

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८० प्रतिशतभन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखा कार्यालयहरू स्थापना गरेको छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  १६:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update