Kath khabar
भूकम्प पश्चात त्रिपालमा बस्दै आएका ४ जना दीर्घरोगीको जाजरकोटमा मृत्यु

 

                  जाजरकोट, मंसिर १ ।  जाजरकोटमा भूकम्प पछि त्रिपालमा बस्दै आएका ४ जना दीर्घरोगीको ज्यान गएको छ । गएको कात्तिक १७ गतेको भूकम्प पछि २ हप्तामा ३ जना वृद्ध र १ महिलाको ज्यान गएको हो ।

घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका २ का ८८ वर्षीय धुलेश्वर कार्कीको मङ्गलवार र बारेकोट गाउँपालिका ४ जिरीका नरेन्द्र बहादुर सिंहको अस्ति बुधवार ज्यान गएको स्थानीयवासीले बताएका छन् । कार्की र सिंह दमका बिरामी हुनुहुन्थ्यो । यसअघि कात्तिक २४ गते शुक्रवार नलगाड नगरपालिका ४ का ८४ वर्षका गोपाल बहादुर रावल र ४८ वर्षकी पम्फा रावलको ज्यान गएको थियो । गोपाल बहादुर दम र पम्फा निमोनियाबाट पीडित हुनुहुन्थ्यो ।

भूकम्प पछि घर बस्न नमिल्ने भएपछि जाजरकोटका ३४ हजार भन्दा धेरै परिवार त्रिपाल मुनि बस्दै आएका छन् । त्रिपाल मुनिको बसाइँले बालबालिका, सुत्केरी, दीर्घरोगी र वृद्धवृद्धा बढी प्रभावित भएका छन् । बालबालिका र वृद्धवृद्धामा श्वासप्रश्वास सम्बन्धी समस्या पनि देखिन थालेको छ । ओढ्ने कपडा सबै घरमा पुरिएर काम नलाग्ने भएको र नयाँ किन्न र जोहो गर्न नसकेको बारेकोटका निम बहादुर नेपालीले गुनासो गर्नुभयो ।

भूकम्प पीडितलाई तत्कालै पालरटेन्टको व्यवस्थापन भए पनि अब न्यानो कपडा, खाद्यान्न र अस्थायी भए पनि बसोबासको व्यवस्थापन महत्त्वपूर्ण भएको नागरिक अगुवा राजेन्द्र विक्रम शाहले बताउनु भएको छ ।

जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारका अनुसार चिसो बढ्न थालेसँगै पीडितमा स्वास्थ्य समस्या देखिने जोखिम भएकाले आवश्यक तयारीको काम थालिएको छ । उहाँका अनुसार यो महिना भित्र अस्थायी आवास बनाएर पीडितको व्यवस्थापन गर्न प्रक्रिया अगाडि बढेको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०८०  १४:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update