Kath khabar
माइनस १६ देखि १८ डिग्री सेल्सियस पुग्यो मनाङको तापक्रम 

 

                 मनाङ, मंसिर २६ ।  जाडो बढेसँगै हिमाली जिल्ला मनाङको तापक्रम दैनिक घट्दै गएको छ। मंसिरको अन्तिम साता आइपुग्दा यहाँको तापक्रम घटेर माइनस १६ डिग्री सेल्सियस पुगेको छ।

बिहानीपखको तापक्रम माइनस ८ देखि १० को हाराहारीमा भए पनि रातिमा करिब माइनस १६ देखि १८ डिग्रीसम्म पुग्ने गरेको छ।

प्रमुख जिल्ला अधिकारी सुवास कुमार लामिछानेका अनुसार मनाङ सदरमुकाम चामेआसपासका क्षेत्रमा माइनस १६ देखि १८ डिग्रीसम्म पुग्ने गरेको छ। तापक्रम मापन गर्दा अत्यन्त कम देखाउँदै गएको उनले बताए। जसका कारण यहाँको जनजीवन कष्टकर बन्दै गएको उनको भनाइ छ।

प्रजिअ लामिछानेले भने, ‘चिसोले धारामा पानी जमेको छ भने खोलानालामा पनि पानी जम्दै गएको छ। बाटोमा हिउँ छ। सवारी साधनको आवत जावत न्यून मात्रामा छ। पिउने पानी जोहो गर्नै मुस्किल हुन थालेको छ।’

चिसो बढ्दै जाँदा यहाँका पूर्वाधार निर्माणका काम ठप्प भएको प्रजिअ लामिछानेले जानकारी दिए। चामे गाउँपालिकाले सूचना जारी गरी विकास निर्माणमा प्रयोग हुने सिमेन्टजन्य काम नगर्न आग्रह गरेको छ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत नमनारायण मल्लले चिसोका कारण सिमेन्टसँग सम्बन्धित निर्माण कार्यमा समस्या हुने भएकाले काम बन्द गर्न भनिएको बताए।

पूर्वाधार कार्यालय मनाङका प्रमुख जय विष्टले भने, ‘चिसो अत्यधिक छ। त्यसैले सिमेन्ट जडित कार्य ठप्प भएको छ। योजनाको नापजाँच, परीक्षणको काम गरिरहेका छौँ।’ पहिलो हिमपात हुनासाथ यहाँका शैक्षिक संस्था बन्द भएका छन्। शैक्षिक संस्था बन्द भएपछि यहाँका अधिकांश स्थानीय जाडो छल्न जिल्ला बाहिर गएका छन्। यहाँका स्थानीय लमजुङ, काठमाडौं, पोखरा तर्फ झर्ने क्रम जारी रहेको छ। 

चिसोका कारण स्थानीय तल झरेपछि नार्पाभूमि गाउँपालिकामा रहेका २ प्रहरी चौकी सदरमुकाम सारिएको प्रजिअ लामिछानेले जानकारी दिए। उनका अनुसार नार्पाभूमिका अत्यावश्यक कामकाजका लागि सदरमुकामस्थित चामे गाउँपालिका-३ कोतोमा अस्थायी कार्यालय स्थापना गरी सेवा प्रवाह भइरहेको छ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इकाइ कार्यालय मनाङका प्रमुख ढक बहादुर भुजेलले चिसो बढिरहेको अवस्थामा पनि पर्यटकको आगमन भइरहेको बताए।

पर्यटकलाई मौसम सम्बन्धी जानकारीका साथै बाटोमा हुन सक्ने जोखिमलाई मध्यनजर गरी यात्रा गर्न सुझाव दिँदै आएको उनले बताए। यहाँ फागुनको पहिलो साता देखि खेतीपातीको समय शुरु हुन्छ। त्यसबेला बेँसीमा झारिएका गोठ लेकका खर्कतर्फ लैजाने गरिन्छ।

हाल जिल्लाभर ४ हजार ३९७ याक चौँरी रहेका भेटेरेनरी अस्पताल तथा विज्ञ केन्द्रका प्रमुख नरेन्द्र राईले जानकारी दिए। जाडो कम हुँदै गएपछि यहाँका स्थानीय पनि घर फर्कन थाल्छन्। 

प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०८०  १३:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update