Kath khabar
नेफ्स्कुन सञ्चालकमा किरण बर्तौलाको उम्मेदवारी घोषणा


                    काठमाडौं, पुस ६ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) सञ्चालकमा किरण बर्तौलाले उम्मेदवारी घोषणा गरेका छन् । 

नेफस्कुनको २०८० पुस सात र आठ गते काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने ३२ औं साधारण सभाले आगामी चार वर्षका लागि नयाँ नेतृत्व चयन गर्नै तयारी गरेको छ । सोही क्रममा नवमैत्री बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बर्तौलाले नेफस्कुन संचालक समिति सदस्य पदका लागि उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

विगत आठ वर्षदेखि सहकारी क्षेत्रमा आबद्ध भई सहकारी अभियानमा भूमिका निर्वाह गर्दै आएका बर्तौलाले सहकारी क्षेत्रमा देखिएका विद्यमान समस्या सतही रूपमा मात्र बाहिर आएको तर नीतिगत रूपमा सम्बोधन हुनुपर्ने धेरै ठाउँ रहेकाले त्यसका लागि पहलकदमी गर्ने खुड्किलोका रूपमा नेफ्स्कुनमा आफ्नो उम्मेदवारी रहेको जानकारी दिए ।

सहकारी ऐन २०७४, सहकारी नियमावली २०७५ जारी भएपश्चात ऐनको कार्यान्वयन पक्ष निकै फितलो रहेको र कार्यान्वयनका पक्षधरहरू सहकारी नियामक निकाय, सहकारी अभियन्ता र सम्पूर्ण सहकारीकर्मीहरूको निष्कृयताले हालको समस्या उत्पन्न भएको हुँदा यसको समाधानका लागि सक्रिय भूमिका खेल्न आफूले नेफ्स्कुनमा उम्मेदवारी दिएको बताए।

व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका बर्तौला नेफ्स्कुनको चुनाबी मैदानमा देखिएका युवा उम्मेदवार हुन् । कानुनी विषय र लेखा सम्बन्धमा पनि विशेष दक्खल राख्ने उनी आफ्नो संस्था नवमैत्री साकोसको संचालनमा पनि अब्बल देखिएका छन् । युवा उम्मेदवारीले नेफ्स्कुनको यस पटकको चुनावी साधारण सभामा उत्साह थपेको छ ।

सहकारी ऐन २०७४ ले दिएको व्यवस्था अनुरूप कर्जा सूचना केन्द्र र ऋण असुली न्याधीकरणको स्थापना भई सहकारी संचालनमा सहजीकरण गरिनुपर्ने धारणा विभिन्न फोरमहरूमा राख्दै आएका छन् । सहकारी ऐन २०७४ को पूर्णरूपमा कार्यन्वयन भई संस्था संचालनमा सहजीकरण, कर्जा लगानी र असुलीमा सहजीकरण, बचतकर्ताको बचत सुरक्षण जस्ता संवेदनशील विषयमा केन्द्रित भई काम गर्ने उद्देश्य राखेका छन् ।

अवसर पाएमा सक्रिय भई सहकारी क्षेत्रको आम समस्या समाधान गर्ने र नीतिगतरूपमा दीर्घकालीन प्रभाव हुने परिवर्तनका लागि योजना रहेको जानकारी बर्तौलाले दिएका छन् ।  

 

 

प्रकाशित मिति: शुक्रबार, पुस ६, २०८०  १४:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update