Kath khabar
इमाडोलस्थित सिल्भर कारखानाबाट तीन किलोभन्दा बढि चाँदी चोरी


                    ललितपुर, माघ ९। महालक्ष्मी नगरपालिकाका इमाडोलस्थित शम्भु विश्वकर्माको स्नेहा सिल्भर कारखानाबाट ३ किलो २०७.६ ग्राम चाँदी चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा सिन्धुपालचोक इन्द्रावती नगरपालिका–९ फटकसिला घर भई हाल ललितपुर इमाडोल बस्ने २५ वर्षीय अनिल बराइलीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

साथै उक्त चोरी भएको चाँदी खरिद गर्ने ललितपुर महानगरपालिका–१२ मंगलबजार बस्ने शिवली ज्वेलर्सका संचालक ५४ वर्षीय राजन शाक्यलाई समेत प्रहरीले पक्राउ गरेको छ । कारखानाबाट उक्त परिमाणको चाँदी चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले चोरीमा संलग्न अनिललाई पक्राउ गरेको हो ।

साथै थप सोधपुछको क्रममा चोरी गरेको चाँदी शिवली ज्वेलर्समा बिक्री गरेको खुल्न आएपछि शिवली ज्वेलर्सका सञ्चालक राजनलाई समेत प्रहरीले पक्राउ गरेको हो । उनीहरू उपर जिल्ला अदालत ललितपुरबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको   छ ।

 

 

प्रकाशित मिति: मंगलबार, माघ ९, २०८०  १६:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update