Kath khabar
नेप्सेमा हरियाली, सूचक तथा कारोबार रकम दुबै बढ्यो


                       काठमाडौं, वैशाख १८ । नेप्से सूचक तथा कारोबार रकम दुबै बढेको छ । आज मंगलबार नेप्से २५ दशमलव ९३ अंकले बढेर दुई हजार छ दशमलव २८ अंकमा पुग्न सफल भएको छ । सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव ५८ अंकले बढेर तीन सय ५७ दशमलव ६४ अंकमा पुग्न सफल भएको छ ।

नेप्सेमा आज तीन सय २० वटा कम्पनीहरुको आज ७५ हजार दुई सय ७१ पटकको कारोबारमा एक करोड १८ लाख ३८ हजार एक सय ५० कित्ता शेयर किनबेच भएका छन् । जसबाट आज कुल कारोबार रकम चार अर्ब ८० करोड ४४ हजार छ सय एक रुपैंयाँ कायम भएको छ ।  

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा फाइनान्स समुहको सूचक २६ दशमलव ३० अंकले घटेपनि वाणिज्य बैंक समुहको सूचक ११ दशमलव ४२, विकास बैंक समुहको सूचक एक सय ९६ दशमलव ३०, जलविद्युत समुहको सूचक ३८ दशमलव ७९, जीवन बीमा समुहको सूचक ९६ दशमलव ४२ र निर्जीवन बीमा समुहको सूचक दुई सय ४३ दशमलव ३२ अंकले बढेका छन् । यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र व्यापार समुहको सूचक बढेर हरियो भएको छ ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज कर्पोरेट डेभलपमेन्ट बैंक, जानकी फाइनान्स, आईसीएफसी फाईनान्स आदिको शेयर मूल्य बढेका छन् भने पोखरा फाइनान्स, गुराँस लघुवित्त वित्तीय संस्था, मेगा म्युचुअल फण्ड आदिको शेयर मूल्य घटेका छन् । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने शाईन रेसुंगा डेभलपमेन्ट बैंक, आईसीएफसी फाइनान्स, नेपाल फाइनान्स आदि परेका छन् । 

प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  १६:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update