Kath khabar
एनआईसी एशिया बैंकका कर्जावाला ग्राहकहरुलाई व्याजदरमा छुट


                       काठमाडौं, वैशाख २५ । एन आई सी एशिया बैंकले कर्जावाला ग्राहकहरुलाई व्याजदरमा छुट दिएको छ । देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकहरुमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पुर्‍याउने हेतुले २०८० चैत्र मसान्त सम्ममा देहाय बमोजिमले भाखा नाघेका कर्जाहरुको हकमा सम्वन्धित ऋणीले सम्पूर्ण कर्जा रकम २०८१ जेष्ठ महिना भित्रमा चुक्ता भुक्तान गरेमा जरिवाना तथा हर्जाना रकममा शत प्रतिशत छुट र साधारण बक्यौता ब्याज रकममा समेत देहायको तालिकामा उल्लेख भएबमोजिम छुट प्रदान गर्ने योजना ल्याएको बैंकले जानकारी दिएको छ ।  

मासिक तथा त्रैमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालूपुँजी कर्जा तथा अन्य रिभोल्भिङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि प्रकारका कर्जाहरूमा आर्थिक शिथिलताका कारणले मर्कामा पर्नु भएका ग्राहक महानुभावहरूले यस योजनामा सहभागी भई लाभ लिन सक्नेछन् । यस असाधारण समयमा राष्ट्रिय अर्थतन्त्रको बृहत्तर हितको निमित्त सबै सरोकारवालाहरूले आ–आफ्नो हिसाबले योगदान पुर्याउनुपर्ने आजको टड्कारो आवश्यकतालाई हरसम्भव सम्बोधन गर्न यस बैंकले ऋणीहरूका लागि कर्जामा आकर्षक ब्याज छुटको व्यवस्था गरेको हो ।

बैंकले ल्याएको यस छुट योजनाबाट आर्थिक शिथिलताले समस्यामा पर्नुभएका ग्राहक महानुभावहरूको वित्तीय भार कम गर्न केही हदसम्म भए पनि मद्दत पुग्नुका साथै देशको समग्र अर्थतन्त्रको पुनःउत्थान एवं दिगो सबलीकरणमा समेत टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।

क्र.सं.    भाखा नाघेको समयावधि       साधारण ब्याज रकममा छुट (प्रतिशत)
१          ९१ दिनदेखि १८० दिन               १५ प्रतिशत
२         १८१ दिनदेखि  ३६५ दिन            २५ प्रतिशत
३         ३६५ दिनभन्दा बढि                   ३५ प्रतिशत
 
प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  १४:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update