
काठमाडौं, पुस ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष तथा पूर्वगृहमन्त्री रवि लामिछानेको सांसद पद निलम्बन हुने भएको छ ।
सम्पत्ति शुद्धीकरण विरोधी ऐन अन्तर्गत अदालतमा आरोपपत्र दर्ता भएपछि लामिछानेको सांसद पद निलम्बनमा पर्ने भएको हो ।
सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ (संशोधनसहित) को दफा २७ अनुसार कुनै पनि राष्ट्रसेवक थुनामा रहेको अवस्थामा वा उनीमाथि मुद्दा दायर भएको अवस्थामा मुद्दाको किनारा नलागेसम्म स्वतः निलम्बन हुने प्रावधान छ ।
लामिछानेविरुद्ध सहकारी ठगीसँगै, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा कास्की जिल्ला अदालतमा आज मुद्दा दायर भएको हो ।
पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन गरेको आरोपमा पक्राउ परी जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरणमा रु २७ करोड ८९ लाख ४४ हजार सात सय पाँच र सहकारी ठगीतर्फ रु तीन करोड ३७ लाख ६५ हजार बिगो दाबीसहित मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीका सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्माले जानकारी दिनुभयो ।