Kath Khabar
थबाङका सम्पर्कविहीन ७ कर्मचारी गुल्मीबाट आए सम्पर्कमा

                           रोल्पा, असार २६ । रोल्पाको थबाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित सम्पर्कविहीन भएका सात जना कर्मचारीहरू सम्पर्कमा आएका छन् । उनीहरू आज बिहान ७ बजेतिर कार्यालयमा सम्पर्कमा आएका हुन् । 

रोल्पामा नेपाल टेलिकमको नेटवर्कले काम नगर्ने भएकाले कार्यालयको भुक्तानीका लागि आवश्यक पर्ने वन टाइम पासवर्ड (ओटीपी) लिन छिमेकी जिल्ला रुकुम पूर्व गएको टोली दुई दिनदेखि गायब भएका थिए  । प्रमुख प्रशासकीय अधिकृत घर्तीमगरसहित सात कर्मचारी मंगलबार बिहान ७ बजेदेखि बुधबार बेलुकासम्म फोन स्विच अफ गरेर बेपत्ता भएका थिए । सम्पर्कमा नआएपछि थबाङ गाउँपालिकाले विज्ञप्ति जारी गरेको थियो ।कर्मचारीहरू सम्पर्कमा नआएपछि अपहरण भएको हो कि भन्ने आशंकासहित विज्ञप्ति जारी गरेको थवाङ गाउँपालिकाका अध्यक्ष ऋषिकेशव बुढा मगरले बताए ।

प्रमुख प्रशासकीय अधिकृत हेमराज घर्तीमगर सहित सबै कर्मचारीहरू अब सम्पर्कमा आएको पुष्टि गरेका छन् । उनीहरूले बिहीबार बिहान गाउँपालिका अध्यक्ष ऋषि केशव बुढामगरलाई फोन गरेर आफूहरू गुल्मीको दुर्गम गाउँमा रहेको जानकारी दिएका हुन् ।

सम्पर्कविहीन हुने टोलीको नेतृत्व प्रमुख प्रशासकीय अधिकृत हेमराज घर्तीमगरले गरेका थिए । टोलीमा सहायक प्रशासन पाँचौ तहका हरिश माझी, सह-लेखापाल यज्ञ प्रसाद कँडेल, सब-इन्जिनियरद्वय चन्द्रप्रकाश वली र निशा आचार्य, खा.पा.स.टे. शिव कुमार वली तथा सवारी चालक प्रदिप केसी रहेका छन् ।

 

प्रकाशित मिति: बिहीबार, असार २६, २०८२  १२:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update