Kath Khabar
छाउगोठमा सुतेकी कमलाकाे सर्पको टाेकाइबाट मृत्यु
सांकेतिक तस्विर

                               कञ्चनपुर, असार २९ । सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लामा २८ वर्षीया महिलाको विषालु सर्पले टोकेर  मृत्यु भएको छ ।

महिनावारी भएका महिला बस्ने घर (छाउगोठ) मा सुतिरहेको बेला उनलाई सर्पले टोकेको हो । दुर्गम जिल्लातिर समाजमा जरा गाडेर बसेको छाउपडी प्रथाको अन्धविश्वासका कारण महिलाको सर्पले टोकेर दुखद निधन भएको हो ।

कञ्चनपुर जिल्लास्थित कृष्णपुर नगरपालिका-१, निगालीकी कमला आउजी महिनावारी भएको कारणले गर्दा पक्की घर हुँदा पनि असुरक्षित छाउगोठमा सुतिरहेकी थिइन् । उनलाई शुक्रबार मध्यराततिर क्रेट भनिने विषालु सर्पले टोकेको स्थानीयहरूले बताएका छन् । उनलाई धनगढीको सेती प्रादेशिक अस्पताल लगिएको तर शनिबार राति उपचारको क्रममा उनको मृत्यु भएको हो ।

कमलाको परिवार पहाडी जिल्ला अछामबाट तराईमा बसाइ सरेका थिए । महिलालाई महिनावारी भएका समयमा अलग्गै राख्ने चलन अर्थात छाउपडी प्रथा अछाममा अझैपनि व्याप्त छ । जसले महिलाहरूको जीवनलाई गम्भीर जोखिममा पारेको छ ।

प्रकाशित मिति: आइतबार, असार २९, २०८२  १३:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update