Kath Khabar
काठमाडौं महानगरको २५ अर्ब ७६ करोडको बजेट प्रस्ताव

                                  काठमाडौं, असार ३० । काठमाडौं महानगरपालिकाको, नगरसभाकाे १७ औँ अधिवेसनको पहिलो बैठक सोमबार सभागृहमा सम्पन्न भएको छ । बैठकमा चालु आर्थिक वर्ष २०८१/८२ को कार्यसम्पादन तथा समीक्षा प्रस्तुत गरिनुका साथै आगामी आर्थिक वर्ष २०८२/८३ का नीति तथा कार्यक्रम र बजेटको प्रस्ताव पेश गरिएको छ ।

नगर प्रमुख बालेन्द्र शाह (बालेन) ले चालु आवको प्रगति विवरण, मुख्य क्षेत्रगत उपलब्धिहरूको समीक्षा र आगामी वर्षको योजनागत प्राथमिकता तथा नीतिगत दिशा निर्धारण गर्ने नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । प्रमुख शाहले आगामी आर्थिक वर्षका लागि १९ बुँदे प्रस्तावित नीति तथा कार्यक्रम नगरसभामा प्रस्तुत गर्नुभएको थियो ।

प्रमुख शाहले भन्नुभयो, “आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नगरसभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रम कार्यान्वयनबाट काठमाडौं महानगरपालिकालाई स्पष्ट दिशानिर्देश प्राप्त हुनेछ भन्ने अपेक्षा गरेको छु ।” उहाँका अनुसार काठमाडौंमहानगरलाई समावेशी, सुशासनयुक्त, प्रविधिमैत्री, सुरक्षित, वातावरणमैत्री र नवप्रवर्तनमुखी स्मार्ट सहरको रूपमा रूपान्तरण गर्दै आर्थिक समृद्धि, सामाजिक न्याय, सेवा प्रवाहको गुणस्तर अभिवृद्धि, संस्कृति तथा सम्पदा संरक्षण र दिगो सहरी विकास सुनिश्चित गर्ने लक्ष्य राखिएको छ ।

उक्त कार्यक्रममा चालु आवका अपूरा योजना र नीति कार्यान्वयनलाई निरन्तरता दिने, स्थानीय स्वायत्तता, सुशासन र सेवा प्रवाह सुधार्ने, ई-कोटेसन, सर्भिस रेटिङ सिस्टम जस्ता प्रविधिमैत्री उपाय लागू गर्ने योजना समेटिएको छ।

बाल अधिकार, महिला, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिलगायतका लक्षित समूहको सामाजिक सुरक्षा र पहुँच सुनिश्चित गर्ने, स्वास्थ्य, शिक्षा र पूर्वाधारमा सुधार ल्याउने, जलवायु संकट समाधान, शून्य फोहोर सहर अभियान, स्मार्ट सिटी पूर्वाधार विकास र सांस्कृतिक पर्यटन प्रवर्द्धन कार्यक्रम पनि प्रस्ताव गर्नू भएको थियो । 

स्मार्ट सडक, ट्राफिक व्यवस्थापन, डिजिटल नक्सांकन, पव्लिक प्राएभेट पार्टनरसिप (पिपिपि) मोडल सुधार, आपतकालीन व्यवस्थापन, खुला चोक र पैदलमैत्री क्षेत्र विकास, स्थानीय उत्पादन प्रवर्द्धन र सुरक्षित खाद्य आपूर्ति जस्ता कार्यक्रम मार्फत काठमाडौँलाई समावेशी, सुरक्षित र नवप्रवर्तनमुखी सहरको रूपमा विकास गर्ने लक्ष्य लिइएको प्रमुख शाहले नगरसभामा बताउनु भएको थियो । (मेट्राे न्युज)

प्रकाशित मिति: सोमबार, असार ३०, २०८२  ११:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update