Kath Khabar
पुसदेखि सञ्चालनमा आउने नागढुंगा सुरुङमार्गमा शुल्क तोकियो, कुन सवारीलाई कति ?

                                       काठमाडौं, साउन ३० । आगामी पुसदेखि सञ्चालनमा आउने नागढुंगा-सिस्ने खोला सुरुङमार्ग प्रयोग गर्ने सवारी साधनका लागि सरकारले उपभोग दस्तुर तोकेको छ । 

सुरुङमार्गकाे हाल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । सुरुङमार्ग परियोजनाको भौतिक प्रगति ९२.५ प्रतिशत पुगेको छ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दस्तुर निर्धारणको निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले जानकारी दिएका छन् ।

सवारी साधनको प्रकृतिअनुसार भित्रिने र बाहिरिने बेलाका लागि फरक फरक शुल्क तोकिएको छ ।  निर्धारित दस्तुरअनुसार कार र भ्यान काठमाडौं आउँदा ६५ रुपैयाँ बाहिरिँदाको ६० रुपैयाँ तोकिएको छ । बस र ट्रकले काठमाडौं आउँदा २६० रुपैयाँ र जाँदा  २०० रुपैयाँ बुझाउनुपर्नेछ ।  यस्तै, मिनी बस र ट्रकका लागि प्रवेश शुल्क ११५ रुपैयाँ र बाहिरिने शुल्क ८० रुपैयाँ तोकिएको छ । त्यस्तै, भारी उपकरणसहित प्रवेश गर्दा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ तिर्नुपर्ने तोकिएको छ । सुरुङमार्गमा बाइक र तीन पांग्रे गाडी (रिक्सा–अटो) लाई प्रवेश गर्न दिइने छैन । यसैगरि पेट्रोलियम पदार्थ जस्ता जोखिमयुक्त बस्तु ढुवानी गरेकाहरुलाई पनि सुरुङमार्गमा प्रवेश गर्न दिइने छैन ।

२०७६ कात्तिक ४ मा सुरु भएको यो सुरुङमार्गको मुख्य दूरी २६८८ मिटर र आपतकालीन सुरुङको दूरी २५५७ मिटर रहेको छ ।  काठमाडौंको चन्द्रागिरि नगरपालिकाको दहचोकबाट सुरू हुने सुरूङमार्ग पश्चिमतर्फ धादिङको धुनीबेँसी नगरपालिकाको सिस्ने खोलामा टुङ्गिनेछ । त्यसैको समानान्तर उद्धार आदि कार्यका लागि समानान्तर सहायक सुरूङसमेत खनिएको छ।

यस आयोजनाको कुल ठेक्का रकम २२ अर्ब रुपैयाँ छ, जसमा जापानको १६ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण र नेपाल सरकारको ६ अर्ब रुपैयाँ लगानी रहेको छ । सुरुङ निर्माण जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले गर्दै आएको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०८२  १३:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update