Kath Khabar
आज साउनको पहिलो सोमबार, देशभरका शिवालयमा भक्तजनको भीड

                  काठमाडौं, साउन ५ । आज यो वर्षको साउनको पहिलो सोमबार । पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो लागेको छ । हिन्दू धर्ममा साउनलाई धर्मकर्मको महिना भनिन्छ ।  साउन महिना भगवान् शिवको प्रिय महिना र प्रिय बार सोमबार मानिन्छ ।

यस दिनमा शिवलाई मनपर्ने बेलपत्र, जल, पञ्चामृतद्वारा पूजाअर्चना गरिन्छ । हिन्दु धर्मग्रन्थ अनुसार भगवान शिवलाई सोमबारको स्वामी भनिन्छ । त्यसैले यो दिनलाई विशेष दिनका रुपमा लिइन्छ ।

हिन्दु महिलाहरुले साउने सोमबारलाई विशेष धार्मिक दिनका रुपमा लिने गर्दछन् । साउने सोमबारका दिन निराहार ब्रत बसी शिवजीको पूजा अराधना गर्दा मनोकांक्षा पूरा हुन्छ भन्ने विश्वास छ । यस दिन महिलाहरूले हरियो रंगका वस्त्र, चुरा र मेहन्दी लगाएर भगवान् शिवको पूजा तथा आराधना गरी व्रत बस्ने गर्दछन्  । शिवजीको पूजा उपासना गर्नाले आफू र आफ्नो परिवारको सुस्वास्थ्य, दीर्घायु र घर परिवारमा सुख शान्ति छाउने धार्मिक विश्वास छ ।

शिव पुराण अनुसार यसै महिनामा माता पार्वतीले शिव भगवानलाई आफ्नो पतिको रुपमा पाउँँन साउन महिनाका प्रत्येक सोमबार ब्रतमा बसी शिव भगवानको आराधना गरेको थियो । भगवान शिवले माता पार्वतीको पूजाबाट प्रसंग भई इच्छा अनुरुप वर्दाण दिएका धार्मिक मान्यता रहेको छ ।

 

 

प्रकाशित मिति: सोमबार, साउन ५, २०८२  ०७:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update