काठमाडौं, असोज १ । प्रत्येक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालिगडहरूले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदैछन् ।
विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्बिरमा विधिपूर्वक पूजा आराधना गरी विश्वकर्मा पूजा मनाउने गरिन्छ । यस दिन सबै कार्यस्थल, कारखाना, कम्पनी आदिमा सबै मेसिन र औजारहरुको पूजा गर्ने गरिएको छ । भनिन्छ, भगवान विश्वकर्मा एक देवता थिए, जसले ब्रम्हान्डको निर्माण गरेका थिए ।
कलकारखानालाई विशेष रूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ । बालुवा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य शुद्ध स्थलमा लगी सेलाउने गरिन्छ । आज पूजा गरी नदीमा लगी मूर्ति सेलाइन्छ ।
आजका दिन कालिगडले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिने लगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ । द्वापर युगमा भगवान् कृष्णलाई राक्षसहरूले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ ।
हिन्दू पौराणिक कथाका अनुसार विश्वकर्माले पूरै ब्रह्माण्डको निर्माण गरेका थिए । पौराणिक कालमा चलाईने सबै हतियारको निर्माण पनि विश्वकर्माले नै गरेका थिए । जसमा बज्र पनि सामेल छ । जुन भगवान ईन्द्रको हतियार थियो ।
वास्तुकारहरुले कैयौ युगदेखि विश्वकर्मालाई आफ्नो भगवान मानेर उनको पूजा गर्दै आईरहेका छन् वास्तुका शास्त्रका पुस्तकका लेखक एवं अध्येताको सम्झनामा आजको दिनलाई वास्तुविद्हरूले वास्तु दिवसका रूपमा समेत मनाउने गर्छन् । पछिल्लो समय नेपालमा पनि वास्तु विद्याको पुनर्जागरण सुरु भएको छ ।