काठमाडौं, कात्तिक १५ । आज कार्तिक शुक्ल एकादशी अर्थात हरिबोधिनी एकादशी । हरिबोधनी एकादशीका दिन तुलसीलाई विष्णुसँग विवाह गरी विशेषरुपमा मनाउने गरिन्छ ।
असार शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीदेखि कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गर्ने गरिन्छ । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल पूर्णिमासम्म सनातन धर्मावलम्बीले घरघरमा तुलसी रोपी विशेष पूजा आराधना गर्छन् ।
वैदिक पात्रोमा उल्लेख गरिने १६ तिथिमध्ये एकादशीलाई महत्वपूर्ण तिथिका रुपमा मनाइन्छ । हरिबोधनी एकादशीलाई ठूलो एकादशी पनि भनिन्छ । यस दिन सनातन धर्मावलम्बीले अन्न ग्रहण नगरी कन्दमूल र फलफूल खाने गर्छन् । चतुर्मासाभर पूजा आराधना गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशीदेखि मार्गशीर्ष कृष्ण पञ्चमीसम्म वैदिक यज्ञ गरी समापन गरिन्छ ।
हरिशयनी एकादशीका दिन घर–घरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूल मालाले सजाएर आज विवाह गरिन्छ । तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा बसेको हो । कात्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ । आषाढ शुक्ल एकादशीका दिन क्षीरसागरमा शयन गर्नुहुने भगवान् विष्णु यसै दिन जागा हुनुहुने शास्त्रीय मान्यता छ ।
आजको दिन देशभरका नारायण मन्दिर तथा काठमाण्डौ उपत्यकाका चार नारायण, भक्तपुरको चाँगुनारायण, ललितपुरको विशङ्खुनारायण, काठमाण्डौका शेषनारायण र इचँगुनारायणमा विशेष मेला लाग्छ । त्यस्तै काठमाण्डौको उत्तरी क्षेत्रमा रहेको बूढानीलकण्ठ नारायणस्थानको दर्शन गर्दा चार नारायणको दर्शन र पूजा गरे बराबरको फल पाइने विश्वास पनि गरिन्छ ।

