Kath Khabar
तुइन खोलाको पहिरो भोलिसम्ममा हटाइने, वैकल्पिक बाटो प्रयोग गर्न आग्रह

                          भरतपुर, असोज ८ । नारायणगढ-मुग्लिन सडक खण्डको तुइन खोलामा हिजो साँझ गएको ठूलो पहिरो भोलि (बिहिबार) दिउँसो सम्म मात्र हटाइ सकिने भरतपुरको सडक डिभिजनले जानकारी दिएको छ । 

मंगलबार दिउँसोदेखि सडक अवरुद्ध भएपछि यात्रुहरूलाई ठूलो असुविधा भएको छ । यात्रुहरुलाई सडकको अवस्था बुझी वैकल्पिक मार्ग प्रयोग गर्न सकिने साथै जोखिमयुक्त ठाउँहरुमा सकेसम्म रातिको समयमा यात्रा नगर्न पनि सडक डिभिजनले अनुरोध गरेकाे छ । भरतपुरको सडक डिभिजनले भनेको छ –

"मुग्लिन नारायणगढ सडक खण्डको तुईन खोला पहिरोमा बिहान ६ बजे देखि दुवै तर्फ बाट पहिरो पन्छ्याउने काम सुरु भईरहेकाे छ | पहिरोको तस्विरहरु हरु हेर्दा माथि बाट अब थप ठुलाे पहिरोको सम्भावना कम रहेको भएतापनि झर्न बाँकी रहेका ढुंगाहरू पूर्णरुपमा तल नझरिसकेको हुँदा अझै साना तथा मझाैला स्तरका ढुंगाहरू झर्न सक्ने सम्भावना रहेको देखिन्छ | हाम्रा उपकरणहरु आफु सुरक्षित रहँदै निरन्तर रुपमा पहिरो सफा गर्ने कार्यमा लागि नै रहने छन | सडकमा थुप्रिएको पहिरोको परिमाण निकै धेरै (१२००० - १४००० घ.मि. को आँकलन) रहेको हुँदा उक्त पहिरो पन्छ्याउन समय लाग्ने हुँदा भोलि दिउसो मात्रै सवारी संचालन गर्न सकिने अनुमान गरिएको छ | प्राकृतिक विपदको यस परिस्थितिमा सम्पूर्ण यात्रुमहानुभावहरुले धैर्यता कायम गरिदिनुहुन अनुरोध गर्दै पहिरो सफा गर्ने कार्यको लागि कुरिनटार तथा भरतपुरबाट ईन्धन लगायत अन्य आवश्यक उपकरणहरु बोकी सडक विभागका गाडीहरु आवतजावत हुने हुँदा सो को सहजिकरणको लागि लेन अनुशासन अनिवार्य रुपमा कायम गरिदिनुहुन समेत अनुरोध गरिन्छ |"

 

 

 

प्रकाशित मिति: बुधबार, असोज ८, २०८२  १२:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update