Kath Khabar
नवरात्रको सातौँ दिन आज घर घरमा फूलपाती भित्र्याइँदै

                 काठमाडौं, असोज १३ । दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा हिन्दु परम्परा अनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैँघर अथवा पूजाकोठामा शुभसाइतको प्रतीकका रूपमा फूलपाती भित्र्याउने प्रचलन रहिआएको छ । यस वर्षको फूलपाती आज अपराह्न साँढे चार बजे भित्र्याइने कार्यक्रम छ ।

बडादशैँको पहिलो दिन जस्तै सप्तमी, अष्टमी, नवमी एवम् दशमी तिथिको विशेष महत्व हुने शास्त्रीय मान्यता अनुसार फूलपातीको आफ्नै विशिष्ट महत्व रहेको र दसैँका लागि पूजा सामग्री स्वरूप फूलपाती भित्र्याउने कार्य गरिन्छ ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजा कोठामा शुभसाइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ । नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नौ देवीको प्रतीकका रूपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको छ ।

प्राचीन कालदेखि नै दरबार, कोट र घर–घरमा फूलपाती भित्र्याउने परम्परा छ । आधुनिक नेपाल निर्माणपछि गोरखाबाट फूलपाती ल्याएर हनुमानढोकामा भित्र्याउने चलन अझै कायम छ ।

 

प्रकाशित मिति: सोमबार, असोज १३, २०८२  ०८:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update