Kath Khabar
आज वडादशै, मान्यजनहरूबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ विजया दशमी मनाइँदै

                     काठमाडौं, असोज १६ । आज नेपालीहरूको महान् चाड वडा दशैको दशौँ दिन आफ्ना मान्यजनहरूबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ विजया दशमी मनाइँदैछ ।  नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले टीका लगाउने उत्तम साइत ११ बजेर ५३ मिनेटमा रहेको जनाएको छ ।

आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका र जमरा थापेर मनाइन्छ । मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रुप मानी लगाउने गरिन्छ ।

विजयादशमीका दिन आफ्ना मान्यजनबाट टिका ग्रहण गर्दा अरु फूलको सट्टा समृद्धिको प्रतीक पहेँलो जमरा नै प्रयोग गरिन्छ । नौदिनसम्म दसैँघरमा दुर्गाभवानीको पूजा आराधना गरी राखिएको जमरासहितको टिका लगाउने प्रचलन छ । असत्यमाथि सत्य र आसूरी शक्तिमाथि दैवी शक्तिको विजयका रूपमा मनाइने यस पर्वअन्तर्गत नवरात्रिका उपलक्ष्यमा आजदेखि नौदिनसम्म विभिन्न शक्तिपीठ तथा दसैँघरमा प्रत्येक दिन पूजाअर्चनासहित दुर्गा सप्तशती चण्डी र भगवतीको स्तोत्र पाठ गर्ने गरिन्छ ।

मान्यजन टाढा टाढा हुने आफन्त आजदेखि आश्विन शुक्ल पूर्णिमासम्म आशीर्वाद थाप्न घरमा जाने गर्छन् । आफ्नो घरमा मान्यजनको हातबाट टीका लगाएसँगै पूर्णिमासम्म आफन्तकोमा गएर टीका ग्रहण गर्ने गरिन्छ ।

टाढा रहेका आफन्तकहाँ टीका लगाउनु पर्ने भएकाले पनि पूर्णिमासम्म टीका लगाउने चलन रहेको संस्कृतिविद्को भनाइ छ। आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिन जमरा विसर्जन गरेसँगै टीका लगाउने क्रम पनि सकिनेछ ।

प्रकाशित मिति: बिहीबार, असोज १६, २०८२  ०६:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update