काठमाडौं, कात्तिक ११ । देशका उच्च पहाडी भागहरुमा भारी हिमपात सुरु भएको छ । मुस्ताङको मुक्तिनाथ लगायत उपल्लो मुस्ताङको अधिकांश स्थानमा भारी हिमपात भएको छ ।
हिउँ परेपछि जनजीवन प्रभावित भएको छ । हिमपातका कारण मुस्ताङ घुम्न आएका पर्यटक र मुक्तिनाथ दर्शन गर्न आएका दर्शनार्थीहरूलाई असहज भएको छ ।
जिल्ला प्रशासन कार्यालय मुस्ताङले विज्ञप्ति जारी गर्दै हिमपात भइरहेकाले यात्रामा ननिस्किन पदयात्रीलाई आग्रह गरेको छ । कार्यालयले मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–४ कागबेनीदेखि माथि मुक्तिनाथसम्मको यात्रा नगर्न अनुरोध गरेको छ । मुस्ताङको अन्य भागमा समेत बुधबारसम्म हिमपात र वर्षाको सम्भावना रहेकाले पर्यटक तथा तीर्थयात्रीहरुलाई मौसम पूर्वानुमानसम्बन्धी जानकारी लिएर यात्रा गर्न भनिएको छ ।
यस्तै, मनास्लु क्षेत्रमा परेको हिमपातका कारण पर्यटक र पदयात्रीहरू प्रभावित भएका छन् । मनास्लु क्षेत्रमा लार्के पासतर्फ गएका पर्यटकहरू हिमपातपछि बाटैमा रोकिएका छन् ।
गोरखा जिल्लाको उत्तरी भेगमा पनि हिजाे साँझदेखि नै हिमपात भएको छ । चुमनुब्री गाउँपालिका अन्तर्गत विभिन्न स्थानहरूमा हिमपात भइरहेको जानकारीमा आएको छ । तीन हजार मिटरभन्दा माथिका निले, छुले, पाङ्दुन, लार, फुर्पे, लामागाउँ, बुरजी, जोङ, छेकाम लगायतका गाउँहरू हिउँले ढाकिएका छन् ।
पश्चिमी वायुको प्रभावको कारण हिमपात भएकोले अब उत्तरी गोरखा, धादिङ, रसुवा हुँदै उक्त हिमपात पूर्वतर्फ सर्दै अघि बढ्ने सम्भावना रहेको छ । यस्तै, काठमाडौं वरपरका अग्ला पहाडहरुमा हिउँ पर्न सक्छ सक्ने सम्भावना रहेको मौसमविदहरुले जनाएका छन् ।

