काठमाडौं, कात्तिक १० । नेपालमा बिहीबार दिउँसोदेखि बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को प्रभाव देखिने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागले जारी गरेको विशेष बुलेटिन अनुसार बंगालको खाडीमा विकसित चक्रवात 'मोन्था'का कारण कार्तिक १३ गते बिहीबार दिउँसोदेखि कार्तिक १५ गते शनिबार बिहानसम्म कोशी, मधेश र बागमती प्रदेशको मौसम प्रभावित हुने देखिन्छ । मधेश र कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ भने कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा भारी हिमपातको समेत सम्भावना रहेकाे विभागले जनाएको छ ।
चक्रवात आज राति भारतको आन्ध्र प्रदेशबाट हुँदै कमजोर हुँदै नेपालतिर सरिरहेको छ । यसको प्रभावले मधेश र कोशी प्रदेशका धेरै स्थानमा तथा बागमती प्रदेशका केही स्थानमा मध्यम वर्षा, र मधेश–कोशीका एक–दुई ठाउँमा भारी वर्षा साथै कोशी, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली क्षेत्रमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । भारी वर्षाका कारण बागमती, कोशी, कमला र कन्काई नदी तथा तिनका सहायक नदीहरूमा बहाव बढ्ने, साथै स–साना नदीनालामा आकस्मिक बाढी आउन सक्ने चेतावनी समेत दिइएको छ ।
त्यसैले आवश्यक सतर्कता अपनाउनु हुन र पूर्वतयारी एवं पूर्वकार्य सम्बन्धी देहाय बमोजिमका कार्यहरु गर्न गराउन विभागले सम्बन्धित सबैमा अनुरोध गरेकाे छ ।


