काठमाडौं, कात्तिक २० । सहकारी ठगी आरोपमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशीको मुद्दा आज उच्च अदालत तुलसीपुर बुटवल इजलासमा सुनुवाइ हुदैछ ।
उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीशद्वय बासुदेव आचार्य र ओमप्रकाश अर्यालको संयुक्त इजलासमा उनीहरूको मुद्दाको सुनुवाइ हुन लागेको हो ।
लामिछानेले साउन २५ गते रुपन्देही जिल्ला अदालतको निर्णयविरुद्ध उच्च अदालतमा पुनरावेदन दर्ता गरेका थिए । सहकारीमा हिनामिनाको रकममध्ये आफ्नै हिस्साको क्षतिपूर्ति रकम बुझाए पनि जिल्ला अदालतले उनको धरौटी निवेदन अस्वीकार गरेको थियो ।
जिल्ला अदालतको निर्णयविरुद्ध लामिछानेले गत भदौ ९ गते उच्च अदालतमा पुनर्विचारको माग गर्दै निवेदन दर्ता गराएका थिए । त्यसपछि उच्च अदालत तुलसीपुर बुटवल इजलासले लामिछाने र जोशी दुवैको निवेदन एउटै पेसीमा राख्ने आदेश दिएको थियो ।
हाल पुर्पक्षका लागि रवि लामिछाने र छविलाल जोशी दुवै कारागारमा छन् । लामिछानेलाई भैरहवा कारागारबाट ललितपुरको नख्खु कारागारमा सारिएको छ भने जोशी अझै पनि भैरहवामै रहेका छन् ।

