Kath Khabar
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ

                         काठमाडौं, कात्तिक ३० । काठमाडौं महानगरपालिका-१३ कालीमाटीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३ ग्राम र नगद ५ हजार रूपैयाँ सहित काठमाडौं शालिक चोक बस्ने भारत सुनौली घर भएका २१ वर्षीय निकेश शाहलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

सुनसरी, कोशी गाउँपालिका-७ हरीपुर चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ७४ ट्याब्लेट र डिकोलिक ८९ ट्याब्लेट सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर थाहा नगरपालिका-११ बस्ने २७ वर्षीय प्रशान्त स्याङतान र २६ वर्षीय राजन थोकर रहेका छन् । अस्थायी प्रहरी चौकी हरीपुरबाट खटिएको प्रहरीले विराटनगरबाट काठमाडौंतर्फ जाँदै गरेको ना.३ ख ३८०१ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारी चालक प्रशान्त र सहचालक राजनलाई पक्राउ गरेको हो । 

यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-१३ सोमबारेबाट अवैध लागूऔषध गाँजा २५ किलोग्राम सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २४ वर्षीय आकाश पटेल र २७ वर्षीय रवि सरदार रहेका छन् ।  लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

यसैगरी सुनसरी, कोशी गाउँपालिका-८ तिनकुनेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ८० मिलिग्राम सहित सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका-२ बस्ने २४ वर्षीय बसन्त कुमार मण्डललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको    छ । इलाका प्रहरी कार्यालय भाण्टाबारीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

चितवन, भरतपुर महानगरपालिका-३ पुलचोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५ सय १८ ट्याब्लेट सहित नवलपरासी पूर्व गैंडाकोट नगरपालिका-१७ बस्ने १९ वर्षीय मनिष परियारलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय  नारायणगढबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

कञ्चनपुर, दोधारा चाँदनी नगरपालिका-९ माताटोल बस्ने ३० वर्षीय गणेश सुनारलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम २ सय २० मिलिग्राम सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय कञ्चनपुर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

कैलाली, गोदावरी नगरपालिका-२ अत्तरिया लम्साल गल्लीस्थित बोगटी होटलबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ करिब १ सय ७ ग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा होटल संचालक डोटी जोरायल गाउँपालिका-९ बस्ने ३७ वर्षीय ओम प्रकास थापा र कैलाली गोदावरी नगरपालिका-२ बस्ने बझाङ बुङ्गल नगरपालिका-५ घर भएका ४१ वर्षीय नरेश प्रसाद जोशी रहेका छन् । इलाका प्रहरी कार्यालय मालाखेती समेतबाट खटिएको प्रहरीले उक्त होटलमा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 

सिराहा, नवराजपुर गाउँपालिका-४ नवराजपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ६ सय मिलिग्राम सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सप्तरी सुरुङ्गा नगरपालिका-७ चक्रदहा बस्ने २१ वर्षीय बिक्रान्त चौधरी र सिराहा लहान नगरपालिका-१ मटिहरवा बस्ने २६ वर्षीय शितल चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय झाझपट्टीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको स.१० प ७८६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

बारा, जीतपुरसिमरा उपमहानगरपालिका-५ लल्का पुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४४ ग्राम ४ सय मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्सा पटेर्वा सुगौली गाउँपालिका-६ बस्ने ३५ वर्षीया सुसिला देवी र पोखरिया नगरपालिका-७ बस्ने ३० वर्षीया पुजा देवी रहेकी छिन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पर्सा समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक ३०, २०८२  १६:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update