काठमाडौं, मंसिर १ । काठमाडौं महानगरपालिका-७ गौरीघाटबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ हजार ८ सय ४० ट्याब्लेट सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नारायणटार बस्ने भक्तपुर चाँगुनारायण नगरपालिका-८ घर भएका ३३ वर्षीया लक्ष्मी कार्की र काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका-८ घर भएका ३४ वर्षीय किरण खत्री रहेका छन् । प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
बाँके, नेपालगंज उपमहानगरपालिका-४ बाईपासबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ३ सय ३० मिलिग्राम र नियन्त्रित लागूऔषध स्पास्मो २८ ट्याब्लेट सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका-३ बस्ने २५ वर्षीय सबिन विष्ट र सोही नगरपालिका-६ बस्ने २३ वर्षीय समिर थापा रहेका छन् । अस्थायी प्रहरी पोष्ट बसपार्क नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
सुनसरी, इटहरी उपमहानगरपालिका-१२ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल १९ हजार ८ सय ट्याब्लेट र डिकोलिक ४ सय ट्याब्लेट सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ५० वर्षीय नसिव नारायण चौधरी र उनकै श्रीमती २४ वर्षीया सम्झना चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय समेतबाट खटिएको प्रहरीले नसिव नारायणको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
धनुषा, विदेह नगरपालिका-१ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ८ ग्राम २ सय ७० मिलिग्राम सहित धनुषाधाम नगरपालिका-७ किसानपुर बस्ने २५ वर्षीय सिकेन्द्र रामलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ठाडिझिझाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सर्लाही, लालबन्दी नगरपालिका-६ शिव मन्दिरस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ३८ किलो ८ सय ९० ग्राम सहित हरीवन नगरपालिका-१ कटौना बस्ने ५५ वर्षीय बद्री बहादुर श्रेष्ठलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले लखनदेही खोलाबाट लालबन्दीतर्फ आउँदै गरेको प्र.२-०३-००१ ह ३२८ नम्बरको अटो र ना.६० प ५५६ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त गाँजा फेला अटो चालक बद्रीलाई पक्राउ गरेको हो । साथै हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।
सिन्धुली, दुधौली नगरपालिका-४ बैराबाट नियन्त्रित लागूऔषध टापेन्टाडोल ७० ट्याब्लेट र स्पास्मो ७० ट्याब्लेट सहित सोही नगरपालिका-३ कालापानी बस्ने २० वर्षीय हिरण गौतमलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय डकाहाबाट खटिएको प्रहरीले बैराबाट डकाहा चोकतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

