काठमाडौं, मंसिर ४ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व डिआइजी एवम् तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको सहकारी ठगी तथा संगठित अपराध मुद्दामा आज पेसी तोकिएको छ । उच्च अदालत तुलसीपुरका न्यायाधीशद्वय मिलनकुमार राई र सानुमाया डंगोलको संयुक्त इजलासको क्रमसंख्या एकमा पेसी परेको छ ।
गत हप्ता न्यायाधीशहरू वासुदेव आचार्य र ओमप्रकाश अर्यालको संयुक्त इजलासले मुद्दाको सक्कल फाइल झिकाउन आदेश दिएको थियो । फाइल प्राप्त भएपछि सुनुवाइको मिति तय भएकाे हाे ।
बुटवलस्थित सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा भएको अपचलनको आफ्नो हिस्साको बिगो रकम दाखिला गरे पनि न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते उनको रिहाइको अनुरोध अस्वीकार गरेको थियो । उक्त आदेशविरुद्ध लामिछानेले गत भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए ।
यसअघि नै अदालतले लामिछाने र जोशी विरुद्धका मुद्दाहरू सँगै सुनुवाइ गर्न निर्देशन दिएको थियो ।

