बारा, मंसिर ४ । बाराको सिमरा आज पनि तनावग्रस्त बनेको छ । नेकपा एमालेका नेता र जेनजी युवाबीचको झडपले सिमरा बजार आज पनि तनावग्रस्त बनेको हो । प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप हुँदा चार जना घाइते भएका छन् ।
झडपपछि जिल्ला प्रशासन कार्यालय बाराले सो क्षेत्रमा आज पनि कर्फ्यु आदेश जारी गरेको छ । बुधबार दिउँसो १ बजेदेखि साँझ ८ बजेसम्म वीरगञ्ज–पथलैया सडक खण्डको पथलैया चोकदेखि जीतपुर लल्कापुलसम्मको दायाँ–बायाँ ५०० मिटर र सिमरा विमानस्थल वरिपरि ५०० मिटर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको हो ।
आफ्नो समूहका सदस्यलाई कुटपिट गर्ने एमाले नेतालाई पक्राउ गर्न माग गर्दै आज बिहानैदेखि जेनजी युवाहरूले विरोध प्रदर्शन गरेका हुन् । घटनामा संलग्न भएको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जितपुर र सिमरा उपमहानगरपालिकाका दुई वडाध्यक्ष धनबहादुर श्रेष्ठ र कैमोदिन अन्सारीलाई प्रहरीले पक्राउ गरेको हाे । जेनजी अगुवा सम्राट उपाध्यायले उनीहरूसहित ६ जनाविरुद्ध किटानी जाहेरी दिएपछि उनीहरु पक्राउ परेका हुन् ।


