
काठमाडौं, कात्तिक १६। कला र कलाकारिताको कुनै भूगोल हुदैन । त्यही भएर त कला र कलाकारिता यत्रतत्र सर्वत्र मान्य हुन्छ । के देश, के परदेश सबैमा कला र कलाकारिताको सम्मान हुन्छ । त्यो सम्मान सबैले सजिलै कहाँ पाउन सक्छन् र ? त्यो सम्मानको लागि निकै नै ठुलो त्याग, तपस्या र मेहेनत चाहिन्छ । त्यो त्याग, तपस्या र मेहेनतबाट प्रस्फुटित भएको कलाकारिताले आमदर्शक श्रोताहरूको मन मस्तिष्कमा छुनुपर्छ अथवा भनौँ मनमस्तिष्कमा बस्न सक्नुपर्छ । दर्शक श्रोताको मन, मस्तिष्कमा बस्न नसक्ने अर्थात भनौँ टिक्न नसक्ने कलाकार, के कलाकार, त्यो कलाकारिता के कलाकारिता !
वास्तवमा सुरेन्द्र केसी यस्ता कलाकार हुनुहुन्छ जो सधैँ सबैको मन मस्तिष्कमा बस्न सफल हुनुभएको छ। मन मस्तिष्कमा टिक्न सफल हुनुभएको छ, त्यो पनि सधैँका लागि। नेपाली हास्यव्यंग्य क्षेत्रमा एक दशक भन्दा बढी समयदेखि बहुचर्चित हास्य टेलिशृंखला 'मेरी बास्सै' मा 'मुलासाग' उपनामबाट चर्चित बरिष्ठ हास्य कलाकार तथा समाजसेवी सुरेन्द्र केसीसँग काठ खवरका तर्फबाट बिमल कुमार के.सी ले लिनुभएको अन्तर्वार्ताको सम्पादित अंशः-
तपाईँलाई आमदर्शक श्रोताहरूले मुला साग भनेर बढी चिन्नुहुन्छ, तपाईंको वास्तविक परिचय के हो ?
यही ललितपुरको सानेपामा जन्मिएको हुँ । उमेर कति हो, आफै जान्नुहोस्, बुझ्नुहोस् । अहिले ३५ काँटे । मेरो शिक्षाको बारेमा जान्न चाहनु हुन्छ भने म एसएलसी क्रस छु ।
कसरी सुरु भयो, हजुरको कलाकारिता ?
मेरो परिवारको अथवा भनौँ बुबाको सपना भनेको म पढेर डाक्टर बनोस् भन्ने थियो । बुवा रामहरि के.सी र आमा नानीमैया के.सीको एक्लो छोरो हुँ म । आफ्नो इच्छा सानैदेखि कलाकार बन्ने थियो । पढ्न मनै नलाग्ने । बुबाले कुटी कुटी पनि पढाउनुभयो । तैपनि पढ्न कहाँ मन लाग्यो र । बुबालाई देखाउनको लागि मात्र पढेको जस्तो गरियो । यसो नगरे अलि अलि कुटाई खान पर्थ्यो । बुबाको आँखा छलेर अभिनय गरिन्थ्यो । मैले औपचारिकरूपमा नौ कक्षा पढ्दादेखि नै कलाकारिता सुरु गरेको हुँ ।
अहिले लाग्दैन, पढेर डाक्टर भएको भए हुन्थ्यो कि भनेर ?
अहँ लाग्दैन। मेरो परिवारका धेरैजसो सदस्य चिकित्सा क्षेत्रमा नै हुनुहुन्छ। अहिले पनि मेरो सिंगो परिवार पाटन हस्पिटलमा कार्यरत रहेको छ। मेरो बुवा त्यो हस्पिटलको कम्पाउन्डर हुनुहुन्छ । मैले चिकित्सा क्षेत्रलाई नजिकबाट चिनेको छु, बुझेको छु । त्यहीभएर पनि हुन सक्छ । मलाई डाक्टर बन्ने सोच कहिले आएन । सानैदेखि म कलाकार बन्छु भन्ने दृढ सोच र इच्छाशक्ति रहेको थियो । त्यही सोच र इच्छाशक्ति कै कारण म कलाकार बन्न सफल भए । अहिले लाग्छ, डाक्टर भएको भए मेरो जीवन चल्थ्यो होला तर अहिले मेरो जीवन दौडिरहेको छ । निकै नै तेज रफ्तारमा ।
कलाकारहरू बाहिर हाँसखेल गरेको सुखी जस्तो देखिएपनि भित्री आर्थिक अवस्था कमजोर हुन्छ भन्छन् नि ?
म त्यसलाई मान्न तयार छैन । यदि राम्रो कलाकार बन्न सकेको खण्डमा मलाई लाग्दैन, उसको आर्थिक अवस्था कमजोर हुन्छ भनेर। यदि कुनै पनि कलाकार राम्रो कलाकार भएर आमदर्शक श्रोताको मन मष्तिकमा बस्न सकेको खण्डमा कुनै पनि कलाकारले नाम र दामको भोको हुनु पर्दैन। तपाई मलाई नै हेर्नुसक्नु हुन्छ। मेरो सिंगो जीवन नै कलाकारिता हो, कलाकारिता बाहेक मेरो केही काम छैन। आज म जुन अवस्थामा छु, जस्तो अवस्थामा छु, मसंग जे छ त्यो सबै कलाकारिताबाट संभव भएको हो । यदि म कलाकार नभएको भए यो सबै मान सम्मान, इज्जत प्रतिष्ठा म कहाँ पाउँथे र ? तपाई आफै सोच्नुहोस न यदि म कलाकार नभएको भए तपाई मेरो अन्तर्वार्ता लिन आउनु हुन्थ्यो र ? सायद म कलाकार नभएको भए तपाईंको र मेरो भेट पनि हुने थिएन होला ।
हामीले बुझेको, हामीले देखेको सुरेन्द्र केसी कलाकार नै बन्न जन्मिएको हो, उसको नसा नसामा कलाकारिता छ यो अर्थमा आम कलाकारहरुको भिडमा तपाई आफुलाई कुन स्थानमा राख्न चाहनुहुन्छ ?
हेर्नुहोस् ! कलाको मुल्यांकन गर्ने, कलाको सम्मान गर्ने भनेको हाम्रा आमदर्शक, श्रोता, शुभचिन्तकहरु हुनुहुन्छ । उहाँहरुले मलाई कुुन स्थान दिनुुहुन्छ, उहाँहरुको मन मस्ष्तिकमा म कुन हदसम्म बसेको छु । त्यसमा भर पर्छ । म आजसम्म जुन स्थानमा आएको छु, त्यो सबै मेरा दर्शक, श्रोता र शुभचिन्तकहरुको साथ, सहयोग र हौसलाले गर्दा हो । म माथि अथवा भनौं मेरो कलाकारितामाथि उहाँहरुको यो साथ, सहयोग र हौसला हिंजो पनि रहेको थियो, आज पनि छ र भोलि पनि रहने छ । यसको लागि म दिन रात एक गरेर मेहनत गरिरहेको छु, काम गरिरहेको छु । होला म हिट नहुँला तर आजको दिनसम्म आईपुग्दा म एक सफल कलाकार हुँ । आमदर्शक, श्रोताहरूले पनि मलाई यहीरुपमा लिनुु भएको छ ।
कलाकारिता क्षेत्रमा निकै लामो समय बिताईसक्नु भयो, अहिलेसम्म कति संख्यामा चलचित्रहरु गर्नुभयो ?
मैले भनिहाले मैले नौ कक्षा पढ्दादेखि नै कलाकारिता सुरु गरेको हुँ भनेर । यस अर्थमा मेरो सिंगो जीवन नै कलाकारितामय भएको छ । यो अवधिसम्म आईपुग्दा मैले ८५ वटा जति फिचर फिल्म गरेको छु । कुनैमा नायक, कुनैमा खलनायक, कुनैमा मुख्य भुमिका निभाएको छु। अहिले म बिगत १६ बर्षदेखि हास्य टेलिशृंखला 'मेरी बास्सै'सँग आवद्ध छु। अहिले यो टेलिशृंखला नेपाल टेलिभिजनबाट प्रशारण भईरहेको छ । यसैगरी म कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने 'हर्के हवल्दार'मा पनि बिगत ११ बर्षदेखि आवद्ध रहेको छु । यि सबैमा मेरो भुमिका आम दर्शकहरुले निकै नै मन पराउनु भएको छ ।
यति लामो समयदेखि कलाकारिता गरिरहनुु भएको छ, कहिलेकाही कलाकारिता छोडु जस्तो लाग्दैन ?
अहँ ! पटक्कै लाग्दैन । मैले कलाकारिता छोड्नु भनेको मेरा दर्शक, श्रोता, शुभचिन्तहरुप्रति अन्याय गर्नु हो । यो अन्याय म बाट कहिले हुँदैन। म बाँचुञ्जेल कलाकारिता गर्छु । म सकुञ्जेल कलाकारिता गर्छु ।
यस क्षेत्रमा लागेर तँपाईले के पाउनुु भयो, के गुमाउनु भयो ?
यस क्षेत्रमा लागेर सायद मैले गुमाएको केही पनि छैन, सबै कुरा पाएको छु । सबै भन्दा ठुलो नाम पाएको छु । आज तपाईले मलाई चिन्नुहुन्छ । मेरा धेरै दर्शकहरुले मलाई चिन्नुहुन्छ, मुला सागलाई चिन्नुहुन्छ। यो सबै मैले यही कलाकारिताबाट पाएको हुँ । वास्वतमा कलाकारले त्यति सम्मान पाउँछ, जति राजा र भगवानले पाउनु भएको हुँदैन । तर यसको लागि कलाकारले आफ्नो कलाकारितालाई जोगाउनु पर्छ। आफ्ना दर्शक श्रोताको मनमा बस्न सक्नुपर्छ । दर्शक, श्रोता, शुभचिन्तक भनेका कलाकारका भगवान हुन् । कलाकार सधै यि भगवानको प्रिय हुनुपर्छ ।
तपाईले कलाकारिता क्षेत्रमा यहाँसम्मको निकै फराकिलो बाटो तय गर्नुभएको छ, यसको श्रेय कसलाई दिनुु हुन्छ ?
सबै दर्शक, श्रोता, शुभचिन्तक, परिवार, साथीभाई सबैको साथ र सहयोग कै कारण मेरो कलाकारिता बाँचेको छ । यो श्रेय सबैलाई जान्छ ।
अन्त्यमा के भन्नुु हुन्छ ?
सुरेन्द्र केसी एउटा कलाकार हो । कलाकार संधै मायाँको भोका हुन्छन् । मलाई माया गर्नुहोस् । मेरा गल्ती कमजोरीहरुलाई औंल्याईदिनुहोस् । मलाई मात्र होईन सबै कलाकारहरुलाई माया गर्नुहोस्, नेपाली कलाकारितालाई माया गर्नुहोस् ।