Kath Khabar
​सिंगो जीवन नै कलाकारितामा समर्पित गरेको छु -  किरण के.सी (ए राता मकै)

काठमाडौं, कात्तिक २१। बरिष्ठ, हास्य कलाकार, समाजसेवी, गायक एवं ह्याट्रिक प्रोड्युसर किरण के.सी (ए राता मकैं) नेपाली कलाकारिता क्षेत्रमा झण्डै आधा दर्जन नाउँबाट परिचित हुनुहुन्छ। बरिष्ठ हास्य कलाकार, समाजसेवी, गायक एवं ह्याट्रिक प्रोड्युसरकोरुपमा आम नेपाली दर्शक, श्रोता र शुभचिन्तकमाझ सर्वाधिक चर्चित रहनुभएका बरिष्ठ हास्य कलाकार के.सी यसै साता अमेरिकाको आफ्नो पारिवारिक भ्रमण सकेर स्वदेश फर्कनु भएको छ । उहाँको यही पारिवारिक भ्रमण र कला क्षेत्रका बारेमा काठखबरका तर्फबाट बिमल कुमार के.सीले लिनुभएको अन्तर्वार्ताको सम्पादित अंश:-

कस्तो रह्यो यहाँको अमेरिकाको पारिवारिक भ्रमण ?
एकदम रमाइलो अनि ऐतिहासिक भयो, अमेरिकाको भ्रमण । म एक हप्ताअघिमात्र अमेरिकाबाट फर्किएको हुं । यो मेरो विशुद्ध पारिवारिक भ्रमण हो । मेरो जेठो छोरा सन्दीप के.सी, बुहारी रिया के.सी, नाति लियो के.सी, मेरी धर्मपत्नी सीता के.सी र म किरण के.सीको यो विशुद्ध पारिवारिक भ्रमण थियो । मेरो जेठो छोरा, बुहारी र नाति अमेरिकामा नै बस्छन् । हामी पाँच जनाको टोलीले ४९ दिनको अमेरिकाको भ्रमण सकेका हौं । भ्रमण निकै सुखद रह्यो ।

भ्रमण कै कुरा गरौँ न, कलाकारिता क्षेत्रमा नै लागेर तपाईंले अहिलेसम्म कति वटा मुुलुकको भ्रमण गर्नुभयो ?
अहिलेसम्म मैले कलाकारिता कै सिलसिलामा ३८ वटा देश घुमीसकेँ । जहाँसम्म आफ्नो देशको कुरा छ । अहिलेसम्म मैले ७७ वटा जिल्ला मध्ये ६५ जिल्ला घुमिसकेको छु । आशा छ, कामको सिलसिलामा नेपालको सबैजसो जिल्लामा घुम्छु होला, पुग्छु होला ।

तपाईंले कलाकारिता सुरु गरेको चाँहि कति समय भयो ?
मैले बिसं.२०२८ सालदेखि कलाकारिता सुरु गरेको हुँ । हालसम्म कलाकारिता गरेको ४० वर्ष अर्थात् चार दशक नाघिसक्यो । यो अवधिमा मैले गर्न जानेको, बुझेको क्षेत्र भनेको कलाकारिता नै हो । कलाकारिता बाहेक केही गरिन । यसअवधिमा मैले हालसम्म एक सय १५ वटा ठूला चलचित्रहरू गरिसके । यसबाहेक नौ सय भाग बिभिन्न टेलिश्रृखँलाहरु गरिसके । बहुचर्चित हास्य टेलिश्रृखला जिरे खुर्सानीमा काम गरेको पनि १४ बर्ष पुगिसक्यो ।

पहिला र अहिले कलाकारिता गर्दा के कुरा फरक भएको अनुभुति हुन्छ ?
पहिला कलाकारिता गर्नको लागि स्रोतसाधन सीमित हुन्थ्यो । उच्चत्तम प्रविधिहरू थिएनन् । अवसरहरु सीमित हुन्थे । तर अहिले त्यो छैन । जताततै अवसरहरु रहेकाछन् । कलाकारिताको लागि चाहिने प्रविधिहरू पनि उच्चतम् रहेकाछन् । तर यसको लागि आफूमा कला हुुनुपर्छ । आफूमा कलाकारिता हुनुपर्छ । अनिमात्रै कलाकारिता जीवन्त हुन्छ । कलाकारिता अमर हुन्छ ।

एकछिन सोचौँ न, यदि तपाई कलाकार नभएको भए के हुनुहुन्थ्यो ?
यदि म, कलाकार नभएको भए, जागिर खान्थे होला, व्यवसाय गर्थेँ होला ।

यो क्षेत्रमा लागेर के गुमाउनु भयो, के पाउनु भयो ?
कहाँ गुमाउने कुरा गर्नुहुन्छ ? यो क्षेत्रमा मैले गुमाएको केही पनि छैन । सबै कुरा पाएको छु ।

तपाईंले बुझ्नु भएको कलाकारिता के हो ?
कलाकारिता निकै नै सम्मानित पेशा हो । मैले स्व-ईच्छाले रोजेको पेशा नै कलाकारिता हो । मेरो मन परेको बिधा कला संस्कृति हो । कला, संस्कृति र कलाकार भनेका देश र समाजका गहना हुन् ।  त्यही भएर कलाकार सबैतिर पुजनीय हुन्छन् । सबैतिर मान, सम्मान र इज्जत पाउँछन् ।

कलाकारिता क्षेत्रमा लागेर अहिलेसम्म कति सम्मान पाउनुभयो ?
सम्मानको कुरै नगरौं, मैले धेरै सम्मानहरु पाएको छु । अवार्डको कुरा गर्दा मैले पुर्व राजा बिरेन्द्र, ज्ञानेन्द्र, अहिलेको राष्ट्रपति बिद्यादेवी भण्डारी सबैबाट पुरस्कार पाएको छुु । गोरखा दक्षिण बाहु, नेशनल अवार्ड पाएको छु । पछिल्लो पटक हास्य बिधा क्षेत्रको सबैभन्दा ठुुलो पुरस्कार एक लाख ११ हजार एक सय ११ रुपैया राशीको बासुदेव लुईटेल पुरस्कार पनि पाएको छु । नागरिक सम्मान पनि पाएको छुु । नेपाल प्रहरीको सबैभन्दा उच्च सम्मान पनि मैले पाएको छुु । अहिलेसम्म ४०, ४५ वटा सम्मान पाईसकेको छुु ।

नयाँ आउने पींढीलाई यो पेशाको बारेमा के भन्नुहुन्छ ?
यो पेशा निकै नै सम्मानित पेशा हो । पहिला पैसा कमाउन डाक्टर इन्जिनियर, बन्नुपर्छ, व्यवसाय गर्नुपर्छ  भन्थे । तर अहिले कलाकारिताबाट नै यि सबै कुरा प्राप्त गर्न सकिन्छ । कलाकारिता गरेकै भरमा घर, गाडी, धनसम्पती सबै जोड्न सकिन्छ । अहिले कुुनैपनि पेशा कमजोर छैन । सबै पेशा सम्मानित छन् तर त्यो भन्दा धेरै सम्मानित पेशा कलाकारिता हो । यसमा नाम, दाम, मानसम्मान, हाँसो खुसी सबै रहेको छ ।

चार दशक भन्दा बढी कलाकारिता गरिसक्नु भयो, अब के गर्ने योजना छ ?
मेरो लागि जे छ, त्यो भनेको कलाकारिता क्षेत्रमा रहेको छ । यति लामो समय कलाकारिता गरिसके अबको बाँकी समय पनि कलाकारिता नै गर्छु । कलाकारिता मै मैंले सिंगो जीवन समर्पित गरेको छु ।

 

प्रकाशित मिति: आइतबार, कात्तिक २१, २०७८  ०७:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update