Kath khabar
कमान्डर अर्थमन्त्रीको ४ महिने प्रगति : पुँजीगत खर्च जम्मा ४ प्रतिशत

 

काठमाडौं, मंसिर १० । मुलुकमा साम्यवादी व्यवस्था ल्याउने गरी माओवादी जनयुद्धका कमान्डर समेत भएका जनार्दन शर्माले अर्थमन्त्रालय हाक्न भने नसकेको देखिएको छ। प्रत्येक महिना १० प्रतिशत विकास खर्च गर्छु भनेपनि उनी यसमा अहिले चुकेका छन् ।

यो वर्षको चार महिना बित्दासम्म राज्य कोषबाट विकासका लागि भनेर जम्मा ४  प्रतिशत मात्रै खर्च  गर्न सकेका छन् । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकार ढलेसँगै शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्यो । तर, अझै पनि मन्त्रालयहरुले पुर्ण मात्रामा मन्त्री पाउन सकेका छैनन् । जसका कारण विकास निर्माणका कामहरू प्रभावित भएका छन् ।

ओली नेतृत्वको सरकारले अघि बढाएका कामहरू पनि अहिले शिथिल भएका छन् । नयाँ कामहरू पनि यो सरकारले  थाल्न  सकेको छैन । जसका कारण उच्च मात्रामा राजस्व संकलन गर्न सफल भएको सरकारले विकास खर्च गर्न भने चार महिनामा असफल जस्तै भएको छ ।

महालेखा नियन्त्रक कार्यालयले दिएको तथ्यांक अनुसार सोमबारसम्ममा विकास खर्च जम्मा ४ दशमलव नौ छ प्रतिशत मात्रै खर्च भएको छ । जबकी यही समय अवधिमा सरकारलाई  राजस्व भने २९ प्रतिशत बराबरको मिलेको छ ।

प्राप्त भएको राजस्व सरकारी ढुकुटीमा थुप्रिँदा बजारमा तरलता अभाव भएको छ । जसले आर्थिक वृद्धि हुने खालका गतिविधि नै प्रभावित हुने देखिएको छ । अर्थमन्त्रीले विकास निर्माण सम्वद्ध मन्त्रालयलाई प्रधानमन्त्रीको मार्फतबाट घच्घच्याउन सके मात्रै विकास खर्चले तिव्रता पाउन सक्छ ।

दलहरू अहिले आफ्नै दलमा नयाँ नेतृत्वले चुन्नेमा व्यस्त छन् । जसका कारण विकास  निर्माण र जनताका पिरमर्का छायामा परेका छन् । राजनीतिक नेतृत्वले मार्गनिर्देशन गर्न नसकेसँगै फेरी कर्मचारीतन्त्र  पनि काम गर्न अघि सरेको छैन ।

 

 

प्रकाशित मिति: शुक्रबार, मंसिर १०, २०७८  १०:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update