Kath khabar
नबिल बैंकद्वारा नबिल सामाजिक उद्यमशीलता कार्यक्रम शुरु


काठमाडौं, मंसिर १०। नबिल बैंकले सामाजिक उद्यमशीलता विकासका लागि नबिल सामाजिक उद्यमशीलता कार्यक्रम शुरु गरेको छ । समाजमा उद्यमशीलताको माध्यमबाट सामाजिक समस्याको दीर्घकालीन समाधान गर्ने नवीन सोचमा आधारित उद्यमलाई प्रबर्द्धन गर्दै आर्थिक सामाजिक रूपान्तरणलाई बढावा दिनका लागि यो कार्यक्रम शुरु गरिएको हो । स्थानीय समुदायको सामाजिक उद्यम क्षमता र नेतृत्व विकासका लागि आवश्यक सीप तथा वित्तिय सहयोग उपलब्ध गराई सामाजिक उद्यमको प्रबर्द्धन गर्ने उद्देश्यका साथ नबिल एसईईले हाललाई सामाजिक उद्यमशीलतामा प्रमाण पत्र कार्यक्रम र फेलोशिप कार्यक्रम  गरी दुई किसिमका कार्यक्रम तय गरेको छ ।

सुरुवाती चरणमा सामाजिक उद्यमशीलतामा प्रमाण पत्र कार्यक्रमलाई कार्यान्वयनमा ल्याउन बैंकले सातै प्रदेशका निम्न स्कुल/कलेज तथा विश्वविद्यालयसँग सम्झौता गरेको छ । कार्यक्रमले सातै प्रदेशलाई समेट्ने गरी प्रत्येक प्रदेशमा एउटा विश्वविद्यालय वा कलेज संग सहकार्य गरी वार्षिक ७ सय विद्यार्थीहरुलाई सामाजिक उद्यमी बन्ने अवसर सृजना गर्नेछ।  त्यसैगरी फेलोशीप कार्यक्रम आवासीय तालिममा आधारित हो, जुन काठमाडौंमा त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन सङ्कायको स्कुल अफ म्यानेजमेन्ट सँग सम्झौता बैंकले आजै गरेको छ । यसै गरी एक वर्षसम्मको आवश्यक सहयोग सहित ४० सहभागीलाई संलग्न गराउँने ६ महिने सिकाइमा आधारित यो कार्यक्रमले १८ देखि ५० वर्ष भित्रका इच्छुक व्यक्तिलाई उद्यमको सुरुवात गर्न सक्षम बनाउने लक्ष्य राखेको छ । यो कार्यक्रममा सहभागि हुन चाहने व्यक्तिले तोकिएको मापदण्ड अनुसार निवेदन दिन सक्नेछन् र छनौटमा परेका व्यक्तिहरूलाई उद्यमशीलताको तालिम दिइने छ । उनीहरूका लागि तालिम अवधिमा बस्ने, खाने सुविधा उपलब्ध  हुनेछ । सम्भाव्य सामाजिक उद्यममा इच्छा भएका, सोच  बनाएका र आवश्यक मात्रामा आफ्नो लगानी गर्न तयार भएका व्यक्तिहरू यी दुबै मध्ये कुनै एक कार्यक्रममा सहभागि हुन सक्नेछन् ।

नबिल एसईईका दुबै कोर्स पुरा गरेको व्यक्ति उद्यमशीलताको स्पष्ट सोच विकास गरी नयाँ सामाजिक उद्यमको मोडेल गर्दै बैंकबाट ऋण लिएर सामाजिक उद्यम सुरुवात गर्न सक्ने अपेक्षा गरिएको छ । उनीहरूले शिक्षा, स्वास्थ्य, पानी तथा सरसफाइ, कृषि, खाद्य, जीविकोपार्जन, उर्जा र जलवायु परिवर्तन जस्ता क्षेत्रहरुमा लगानी गरी सामाजिक उद्यमशीलता विकास गर्न सक्नेछन् । सहभागीहरूले सामाजिक उद्यम संचालनको तरिकासंगै आधारभूत कानूनी तथा कर सम्बन्धीका ज्ञान पनि पाउनेछन् । उनीहरूले सामाजिक समस्याको पहिचान तथा त्यसको समाधानको तरिका, सामाजिक सञ्जाल मार्फत आफ्नो व्यवसाय प्रबर्द्धन, लेखा सम्बन्धी ज्ञान, आवश्यक  योजना तथा बजेट व्यवस्थापन जस्ता व्यवसाय संचालनका आधारभूत कुराहरुको समेत व्यवहारिक ज्ञान र सीप पाउनेछन् ।  

लघु वित्त, संस्था व्यवस्थापन, परियोजना संचालन तथा व्यवस्थापन, प्रस्तुति कला, आफ्ना वस्तु तथा सेवाको बजारिकरण जस्ता विषयलाई समेत तालिममा समावेश गरिएको छ । यसले गर्दा यो तालिम व्यवसाय सुरुवात तथा संचालनमा मात्र सिमित नभएर उद्यमीको व्यक्तित्व, नेतृत्व र विविध सीप विकाससंग समेत जोडिएको छ । यसरी व्यवसाय संचालनका लागि आवश्यक सैद्धान्तिक तथा व्यवहारिक ज्ञानका साथै कर्जाका लागि समेत सहयोग गरिने भएकाले यो कार्यक्रमले नयाँ उद्यमीलाई सफल र सक्षम बनाउन रचनात्मक सहयोग पुग्नेछ ।

नेपालको संविधानले परिकल्पना गरेको हरेक नागरिकको आर्थिक, सामाजिक र समावेशी विकासको भावनालाई प्रबर्द्धन गर्न यो कार्यक्रमले निजि, सार्वजनिक, शैक्षिक संस्था र समुदायवीचको रचनात्मक सामूहिकतालाई प्रबर्द्धन गर्ने  प्रयास गरेको छ । दिगो विकास लक्ष्य, नेपालको पन्ध्रौं आवधिक योजना लगायतका दस्तावेजले समेत प्राथमिकतामा राखेको समावेशी विकासलाई साकार पार्न यस्ता  कार्यक्रमले सहयोग पुग्ने छ । यो कार्यक्रम पूर्ण व्यवसायिक चक्रको प्याकेज भएकाले सामाजिक उद्यमका लागि अवधारणा निर्माण गर्ने, त्यसलाई लगानीयोग्य बनाउने तथा साना भन्दा साना शिप र रोजगारी गरि जीवन निर्वाह गरिरहेकाहरुलाई पनि उद्यमी  बनाउँन एक नयाँ सुरुवात हुनेछ ।

प्रदेश                  स्कुल/कलेज/विश्वबिद्यालय
१                         महेन्द्र मोरङ आदर्श मल्टिपल क्याम्पस
२                         बिरगंज पब्लिक कलेज
बाग्मती                 क्यम्पियन कलेज
गण्डकी                फ्याकल्टी अफ ह्युमानिटिज एन्ड सोसल साइन्स, पोखरा विश्वविघालय
लुम्बिनी                क्षितिज इन्टरनेसनल कलेज
कर्णाली                सुर्खेत मोडल कलेज
सुदुर पश्चिमाञ्चल    सूदुर पश्चिमाञ्चल एकेडेमी

प्रकाशित मिति: शुक्रबार, मंसिर १०, २०७८  १५:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update