Kath khabar
ओमिक्रोनको भय फैलदै गर्दा अर्थबाट पहिलो लहरको बिमा रकम दिन आलटाल

काठमाडौं, मंसिर २३ ।  कोरोनाको नयाँ भाइरस ओमिक्रोनले अहिले धेरैलाई त्रसित गराएको छ। अर्काे लहर चलेर फेरी घरभित्रै बस्नुपर्ने हो कि भन्ने धेरैमा डर छ। सरकारले भने पहिलो लहरका बेलामा नै  कोरोना प्रभावितहरुलाई रकम दिने प्रतिवद्धता गरे पनि रकम भने दिएको छैन ।

कोरोना बिमा बापत  सरकारले व्यहोर्नुपर्ने  रकम ११ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ ।  तर यो रकम भुक्तानी गर्ने भन्दा पनि अर्थ मन्त्रालय मोडोलिटीको अभाव देखाउँदै यस्तो भुक्तान अल्मल्याउन खोजेको छ ।

कोरोना बिमा बापतको रकम समयमै भुक्तान नगर्दा अहिले  बिमाको बिश्वसनियतामाथि नै प्रश्न उठेको छ । बिमा कम्पनीहरुले ब्यहोर्न नसक्ने बाहेकको रकम ब्यहोर्छु भनेको अर्थ मन्त्रालयले रकम माग गरेको झन्डै डेढ वर्ष बित्न लाग्दा सम्म पैसा भुक्तानी गरेको छैन ।

कोरोना महामारीको पहिलो चरणमा नै कोरोनाका बिरामीलाई बिमा गरेबापत बिमा कम्पनीले एक लाख रुपैयाँ दिने घोषणा गरे । सुरुवातमा महामारीले यत्रो भयानक रुप ल्याउला भनेर नसोचेका बिमा कम्पनीले महामारी फैलिएपछि भने अत्तालिएर यो योजना नै बन्द गर्न खोजे । तर सरकारले योजना बन्द नगर्नु र बिमा कम्पनीले व्यहोर्न नसक्ने रकम सरकारले व्यहोर्ने भन्दै  कोरोना बिमा योजनालाई निरन्तरता दिइयो । कोरोना बिमा मापदण्ड २०७७ मा साढे तीन अर्व भन्दा माथिको रकम  नेपाल सरकारले व्यहोर्ने प्रष्ट व्यवस्था छ ।

सोहि व्यवस्था बमोजिम  नै २०७७ कै साउन १६ गते अर्थमन्त्रालयले साढे तीन अर्ब भन्दा माथि  व्यहोर्ने सचिव स्तरीय निर्णय भएको अर्थमन्त्रालयले बिमा समितिलाई जानकारी गराएको छ ।

बिमा समितिका अनुसार  कोरोना बिमा एक लाख ६१ हजार रुपैयाँ पाँच  सय ४९ जनाले कोरोना बिमा दाबी गरेका छन् । अर्थात यो दाबी अनुसार बिमा कम्पनीले भुक्तान गर्नुपर्ने रकम १५ अर्ब ३२ करोड रुपैयाँ हुन आउँछ । बिमा  कम्पनीहरुले एक अर्ब २८ करोड रुपैयाँ र कोरोना बिमाको लागि स्थापना गरेको  कोष अर्थात पुलबाट ३ अर्ब ५० करोड रुपैयाँ भुक्तान भएको छ । जबकी कोरोना बिमा बापत संकलन भएको रकम भने एक अर्ब हो । यसरी हेर्दा संकलित रकम भन्दा बढि भुक्तान भएको छ  ।

पहिलो लहरपछि दोस्रो लहर पनि सकिएर सोमबार त नेपालमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन प्रवेश गरेको पुष्टि भएको छ । तर, सरकारको ढिलाईले  बिमा क्षेत्रमा भने विश्वासको खडेरी जन्माउन  थालेको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर २३, २०७८  ०९:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update