Kath khabar
अबदेखि एटिएम काउन्टर सहितका सबै विवरण राष्ट्र बैंकमा बुझाउनु पर्ने


काठमाडौं, पुस ८। अबदेखि एटिएम काउन्टर सहितका सबै विवरण राष्ट्र बैंकमा बुझाउनु पर्ने भएको छ । आज बिहीबार सबै किसिमका बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक कम्पनी र नेपाल क्लियरिङ हाउस समेतको नाउँमा परिपत्र जारी गर्दे राष्ट्र बैंकले यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।

निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाहरूले शाखा रहित बैंकिङ केन्द्र र एटिएम मेसिन रहेको स्थानको विवरण आवश्यकता अनुसार सञ्चालन भएको सात दिन भित्र राष्ट्र बैंकमा पठाउनु पर्ने छ भने शाखारहित बैंकिङ केन्द्रमा रहेका ग्राहक तथा विद्युतीय कार्डको विवरण र इ-बैंकिङ कारोबार सम्बन्धी विवरण मासिक रुपमा अर्को महिनाको सात गते भित्र पठाउनु पर्ने छ । भुक्तानी सेवा प्रदायकको हकमा पनि भुक्तानी सेवा प्रदायकको कारोबार सम्बन्धी विवरण, भुक्तानी सेवा प्रदायकको सफल र असफल कारोबार सम्बन्धी विवरण, सेटलमेन्ट बैंकमा रहेको खाताको हिसाब मिलान विवरण र भुक्तानी सेवा प्रदायकको ग्राहक सम्बन्धी विवरण पनि मासिक रुपमा अर्को महिनाको सात गते भित्र पठाउनु पर्ने छ ।

भुक्तानी प्रणाली सञ्चालकको हकमा पनि भुक्तानी प्रणाली सञ्चालकको कारोबार सम्बन्धी विवरण र सफल र असफल कारोबार सम्बन्धी विवरण मासिक रुपमा अर्को महिनाको सात गते भित्र राष्ट्र बैंकमा बुझाउनुपर्ने छ । यसैगरी भुक्तानी सेवा प्रदायकको हकमा पनि भुक्तानी सेवा प्रदायकको एजेन्ट सम्बन्धी कारोबारको विवरण मासिक रुपमा अर्को महिनाको सात गते भित्र राष्ट्र बैंकमा पठाउनु पर्नेछ ।

बैंक तथा वित्तीय संस्था भुक्तानी सेवा प्रदायकको हकमा पनि क्रेडिट कार्ड र प्रिपेड कार्डबाट भएको नगद कारोबार सम्बन्धी विवरण मासिक रुपमा अर्को महिनाको सात गते भित्र पठाउनु पर्नेछ । नेपाल क्लियरिङ हाउस लिमिटेडको हकमा पनि क्लियरिङ हाउसबाट भएका कारोबारको विवरण मासिक रुपमा अर्को महिनाको सात गते भित्र अनिवार्यरूपमा राष्ट्र पठाउनु पर्नेछ ।   


 

प्रकाशित मिति: बिहीबार, पुस ८, २०७८  १३:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update