Kath khabar
५४ प्रतिशतले उकालो लाग्यो ब्यापार घाटा, अर्थमन्त्रीका सामु चुनौति बढ्दै

काठमाडौं, पुष ९ । चालु आर्थिक वर्षको पाँच महिनामै मुलुकको ब्यापार घाटा ७ खर्ब ३५ अर्ब पुगेको छ । गत वर्षको  सोहि अवधिको तुलनामा तुलनामा यस्तो घाटा ५४.७० प्रतिशतले बढी  भएको भन्सार विभागले जनाएको छ ।

बढ्दो आयात नियन्त्रण नहुदाँ ठूलो रकम आयातका लागि बाहिरिएको छ । जसले बजारमा तरलता अभाव देखाएको छ । पछिल्ला तथ्याङ्कहरूले अर्थमन्त्री  जनार्दन शर्मा समक्ष चुनौति थपिदै गएका  देखिन्छन् ।

बिहिबार प्रकाशन  भएको पाँच महिनाको  तथ्यांक अनुसार ८ खर्ब ३८ अर्ब ४० करोड रुपैयाँको आयात हुँदा जम्मा १ खर्ब २ अर्ब ९२ करोडको मात्रै निर्यात भएको छ । आयात ५९. ५५ प्रतिशतले बढ्दा निर्यात १०५ प्रतिशतले बढेको  देखिएपनि आयातको तुलनामा  निर्यात न्युन मात्रामा  रहेकाले ब्यापार घाटा उच्च मात्रामा बढेको देखिएको हो  । तर, आयातित कच्चा पदार्थमा आधारित रहेर उत्पादन गरि बाहिर पठाइने सोयाविन र पाम तेलको  निर्यात बढेकाले ब्यापार घाटा नियन्त्रणमा यसले कुनै योगदान  गर्न सकेको छैन ।

सबैभन्दा बढि आयात हुनेमा पेट्रोलियम पदार्थ अग्रस्थानमा छ। त्यसपछि सवारीसाधन तथा पार्टपूर्जा, मेसिनरी तथा पार्टपूर्जा, कच्चा सोयाविन तेल, टेलिकम्युनिकेसन सामग्री, औषधि, कच्चा पाम तेल, एमएस बिलेट, सुन र चाँदीको आयात पनि भारि मात्रामा बृद्धि भएको छ ।

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुजा, कच्चा पाम तेल, कच्चा सोयाविन तेल, चाँदी लगायतका वस्तुको आयात बढेको छ भने सिमेन्ट, रासायनिक मल, दाल, मोलासिस सुगर, धान तथा चामल लगायतका वस्तुको आयात घटेको छ ।

वस्तुगत आधारमा पाम तेल, सोयाबिन तेल, पिना, धागो (पोलिस्टर तथा अन्य), जुटका सामान लगायतका वस्तुको निर्यात बढेको छ भने चिया, अलैंची, तार, जस्तापाता, तामाको तार लगायतका वस्तुको निर्यात घटेको छ ।

त्यस्तै आर्थिक वर्ष २०७८/७९ को चार महिनामा कुल वस्तु निर्यात १०४.३ प्रतिशतले वृद्धि भई ८२ अर्ब १२ करोड पुगेको थियो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १०.८ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत, चीन तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः १४०.२ प्रतिशत, ७.३ प्रतिशत र २३.५ प्रतिशतले वृद्धि भएको देखिएको थियो ।

आर्थिक वर्ष २०७८/७९ को चार महिनामा कुल वस्तु आयात ६१.६ प्रतिशतले वृद्धि भई ६ खर्ब ५० अर्ब २९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १०.६ प्रतिशतले घटेको थियो ।

 

 

प्रकाशित मिति: शुक्रबार, पुस ९, २०७८  ०९:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update