Kath khabar
विकास निर्माणका काम नगरेपछि सरकारले न त विदेशी ऋण पायो न त आन्तरिक

काठमाडौं, पुष १३। सरकारले यो वर्ष २ खर्ब ८३ अर्ब वैदेशिक ऋण लिने लक्ष्य राखेकोमा विकास निर्माणका काम अघि बढ्न नसकेकाले अहिलेसम्म  १६ अर्ब ६१ करोड मात्रै प्राप्त भएको छ ।

अर्थात सरकारले विदेशी ऋण जम्मा ५ प्रतिशत मात्रै प्राप्त गरेको  छ । हुन त ऋण थुप्रनु र बढ्नु राम्रो होइन । तर, देशका अधिकांश विकास निर्माण यस्तै विदेशी ऋण बाट हुने र यहाँ  उठेको राजस्वले चालु खर्च धान्न पनि मुस्किल हुने भएकाले ऋण के कति प्राप्त भयो भन्ने अर्थ राख्छ ।

सरकारले आन्तरिक ऋण २ खर्ब ३९ अर्ब उठाउने लक्ष्य राखेको छ । तर विकास निर्माणका काम अघि बढाउन चुकेकाले यो पनि ६ अर्ब भन्दा बढि उठाउन सकेको छैन । आन्तरिक ऋण उठाएर मात्रै भएन त्यसलाई खर्चनु पर्ने भएकाले आन्तरिक ऋण पनि उठाउने आँट गर्न सकेको छैन ।

त्यसैगरी सरकारले यो वर्ष वैदेशिक अनुदान ५९ अर्ब ९२ करोड संकलन गर्ने लक्ष्य लिएको थियो । तर, अहिलेसम्ममा ४ अर्ब ४३ करोड मात्रै  प्राप्त भएको छ । अर्थात लक्ष्यको जम्मा ७ प्रतिशत मात्रै बैदेशिक अनुदानका रुपमा रकम प्राप्त भएको छ  ।

विकास निर्माणका काम समयमै अघि बढ्न नसकेका कारण सरकारले वैदेशिक अनुदान प्राप्त गर्न नसकेको हो । सरकारले विकास निर्माणका काम सकेपछि वैदेशिक सहायता दाबी  गर्न मिल्छ । जसलाई सोधभर्ना भनिन्छ । अर्थात सरकारको ढुकुटीबाट खर्चेर विदेशी निकायसँग माग गरिने रकम अर्थात सोध भर्नाबाट २ अर्ब ९२ करोड रुपैयाँ मात्रै प्राप्त भएको छ ।

त्यसैगरी नगद अनुदानबाट १ अर्ब १८ करोड  र सोझै भुक्तानी अर्थात निकायकै खाताबाट खर्च गरिने रकम ३३ करोड खर्च भएको छ । विकास निर्माणका काम अघि बढ्न नसकेकाले अनुदान प्राप्त हुन नसकेको जानकारहरू बताउँछन् । अर्थमन्त्रालयका अनुसार मंसिर ९ गते सम्ममा सरकारले ४ खर्ब २४ अर्ब आम्दानी गरेकामा ४ खर्ब १६ अर्ब भने खर्च गरिसकेको छ ।

तर, विकासका लागि भनेर यो समयमा गरिएको खर्च भने जम्मा ३३ अर्ब १३ करोड हो । ३ खर्ब ४० अर्ब रकम सरकारले  चालु खर्चमा  खर्चेको छ । प्रदेश तथा स्थानीय तहमा हस्तान्तरण गरेको रकम सँगै यसमा कर्मचारीलाई तलब तथा भत्तामा गरिएको खर्च  समेत यसमा जोडिन्छ ।

 

प्रकाशित मिति: मंगलबार, पुस १३, २०७८  ०९:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update