Kath khabar
अर्थतन्त्रका सूचक बिग्रेपछि प्रधानमन्त्रीले अर्थमन्त्रीसँग मागे जवाफ

काठमाडौं, पुष २२। अर्थतन्त्रका सूचकहरू नकारात्मक बन्दै गएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले यसमा चासो बढाउनुभएको छ । बुधबार प्रधानमन्त्री कार्यालयमा सबै मन्त्री तथा सचिवलाई विकास निर्माण तीब्र रुपमा अघि बढाउन निर्देशन दिनुभएको छ ।

अर्थमन्त्रालयले तरलता अभाव, ब्यापार घाटा, पुँजीगत खर्चका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएको थियो । साथै तरलता अभाव हटाउन, ब्यापार घाटा कम गर्न र पुँजीगत खर्च बढाउन गरेका प्रयासका  बारेमा पनि जानकारी दिएको थियो । तर, प्रधानमन्त्रीले अर्थतन्त्रमा देखिएका समस्या अहिले मात्रै देखिएका नभई मुलुकले वर्षेनी यस्तै समस्या भोगेकाले तीब्र रुपमा विकासका काम अघि बढाउन निर्देशन दिनुभएको छ। जनताको अपेक्षा र आवश्यकता पुरा गर्ने गरी काम गर्न समेत उनले निर्देशन दिनुभएको छ ।

सरकारले विकास निर्माणका काम अघि बढाउन नसक्दा पुँजीगत खर्च हुन सकेको छैन । जसको सिधा असर बैंकहरूको निक्षेपमा परेको  छ । लगानीयोग्य रकमको अभावमा उद्योगी तथा व्यवसायीले ऋण पाउन सकेका छैनन् । जसको असर मुलुकको आर्थिक वृद्धिमा पर्ने देखिएको छ । जसका कारण प्रधानमन्त्रीले समेत यसमा चासो बढाउनुभएको हो ।  

कात्तिक महिनासम्ममा विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ७.५ प्रतिशत र अमेरिकी डलरमा ७.८ प्रतिशतले घटेको छ । त्यस्तै  शोधनान्तर स्थिति १ खर्ब ५० अर्ब ३८ करोडले घाटामा छ। कुल विदेशी विनिमय सञ्चिति १० अर्ब ४७ करोड अमेरिकी डलर रहेको छ । संघीय सरकारको खर्च २ खर्ब ८७ अर्ब ५४ करोड र राजस्व परिचालन  ३ खर्ब ३४ अर्ब ३१ करोड छ । विकास खर्च ज्यादै न्यून मात्रै खर्च भएको छ।

कात्तिक महिनामा विप्रेषण आप्रवाह ७.५ प्रतिशतले कमी आई ३१२ अर्ब ४२ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११.२ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.८ प्रतिशतले कमी आई २ अर्ब ६३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ६.४ प्रतिशतले बढेको थियो ।

तर यही समयमा वैदेशिक रोजगारीमा जानेहरू भने बढेका छन् । वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई ९६,३८२ पुगेको छ । जबकी अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९५.७ प्रतिशतले घटेको थियो । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २ सय ४९.१ प्रतिशतले वृद्धि भई ५९ हजार ७ सय २३ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७८.९ प्रतिशतले घटेको थियो ।

 

प्रकाशित मिति: बिहीबार, पुस २२, २०७८  १०:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update