Kath khabar
मन्त्रिपरिषद् निर्णय : उखुको न्यूनतम खरीद मूल्य तोक्ने देखि लिएर मुस्कान खातुनलाई ३ लाख रुपैयाँ आर्थिक सहायता दिइने


काठमाडौं, पुस २२। सरकारले यो वर्षको लागि उखुको न्यूनतम खरीद मूल्य तोकेको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष ०७८/७९ को लागि उखुको न्यूनतम खरीद मूल्य प्रतिक्विन्टल ५२० रुपैयाँ निर्धारण गरेको हो ।

बैठकले राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक यदुलाल खरेललाई मुख्य अनुसन्धान निर्देशक पदमा बढुवा गरेको छ। उहाँलाई शुक्रबारबाट लागू हुनेगरि मुख्य अनुसन्धान निर्देशक पदमा बढुवा गरेको हो। त्यस्तै मन्त्रिपरिषद् बैठकले आर्थिक वृद्धि तथा, उत्पादनशीलताका लागि जापान सरकारबाट प्राप्त हुने जापानी येन १० बिलियन (करीब १० अर्ब ३९ करोड रुपैयाँ ) नीतिगत ऋण सहायता स्वीकार गर्ने निर्णयसमेत गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनु भयो।

मन्त्री कार्कीका अनुसार सरकारले गृहमन्त्रालय लागूऔषध नियन्त्रण शाखाका शाखा प्रमुख र सबै जिल्ला प्रशासन कार्यालयका शाखा प्रमुख जिल्ला अधिकारीहरूलाई लागूऔषध नियन्त्रण अधिकारी तोक्ने निर्णय गरेको, नेपाल विद्युत् प्राधिकरणका विभिन्न विद्युत् वितरण केन्द्र र प्रसारण लाइन आयोजनाका लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने निर्णयसमेत गरेको छ।

सरकारले एसिड आक्रमणबाट पीडित मुस्कान खातुनलाई ३ लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने, प्रहरी नवौँ संशोधन नियमावली २०७८ स्वीकृत गर्ने, निजगढ-कोहल्वी ३३ केभी सब-स्टेशन निर्माणका लागि २ बीघा जग्गा नेपाल विद्युत् प्राधिकरणलाई भाडामा उपलब्ध गराउन स्वीकृत दिने र दार्चुला जिल्लामा महाकाली नदीमाथि नेपाल भारत जोड्ने माटरेबुल पुल, निर्माणको समझदारी पत्रमा हस्ताक्षर गर्न स्वीकृत प्रदान गर्ने निर्णय समेत गरेको छ।

प्रवक्ता कार्कीका अनुसार राष्ट्रिय युवा परिषद्को उपाध्यक्ष पदमा सुरेन्द्र बस्नेतलाई नियुक्त गरेको छ। त्यस्तै सरकारले वन क्षेत्रमा कार्बन सञ्चितिको पहिचानसम्वन्धी अनुसन्धानका लागि रूख कटान गर्दा राष्ट्रिय प्राथमिकता प्राप्त र ठूला पूर्वाधार आयोजनाको क्षेत्रफलभित्र पर्ने कटानलाई पहिलो प्राथमिकता दिनेगरी आवश्यक रूख कटान, मुछान, गर्न र नमुनाहरू प्रयोगशालासम्म ल्याउन स्वीकृत प्रदान गर्ने र नेपाल राजपत्रको नियमित अंक हप्ताको दुईपटक सोमवार र बिहीवार प्रकाशन गर्न स्वीकृत दिने निर्णय गरेको छ ।

प्रवक्ता कार्कीले मन्त्रिपरिषद् बैठकले गोरखापत्र संस्थानलाई गोदाम भवन निर्माण गर्न जग्गा प्राप्त गर्न स्वीकृत दिने र राजपत्रांकित प्रथम श्रेणीका सहसचिव कृष्णबहादुर राउतलाई विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने निर्णय गरेको पनि बताउनु भयो ।

 

 

प्रकाशित मिति: बिहीबार, पुस २२, २०७८  २०:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update