Kath khabar
नेपालको अर्थतन्त्र आयातमुखी हुनुको प्रमुख कारण ‘श्रम निर्यात’ अर्थमन्त्री शर्मा

 

काठमाडौं, पुस २३। अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले नेपालको अर्थतन्त्र आयातमुखी हुनुको प्रमुख कारण ‘श्रम निर्यात’ रहेको बताउनुभएको छ । बिहीबार नेपाल निर्यात परिषद् (इकोन) को २४ औं साधारणसभा तथा छैठौं निर्यात दिवसको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।

नेपालबाट ठूलो श्रमशक्ति विदेश गइरहेको र त्यसले नेपालको उत्पादनमा असर गरेको भन्नुहुँदै मन्त्री शर्माले त्यो श्रमशक्तिलाई रोक्न उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्ने बताउनुभयो । उहाँले उत्पादनमूलक क्षेत्रमा लगानी गरेर रोजगारी सृष्टि गर्नु नै समस्याको समाधान रहेको जिकिर गर्नुभयो ।

‘हामीले वस्तु निर्यात गर्नुपर्ने ठाउँमा श्रम निर्यात गरेका छौँ । यही नै मुख्य समस्या हो । सङ्कटको कारण यही हो’, मन्त्री शर्माले भन्नुभयो, ‘यसलाई समाधान गर्न उत्पादनमूलक क्षेत्रमा लगानी गर्नु र हाम्रो व्यवसायलाई वृद्धि गर्नु अनि रोजगारी सृष्टि गर्नुको अर्को विकल्प छैन ।’ विभिन्न वस्तुहरूको पहिचान गरी कतिपय वस्तु आत्मनिर्भर र केही वस्तु निर्यातका लागि उत्पादन गर्नुपर्ने उहाँको भनाइ छ । त्यसका लागि सरकार र निजी क्षेत्रले हातेमालो गरेर अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । नीतिगत, संरचनागत, व्यवहारिक र व्यवसायिक क्षेत्रमा हातेमालो गर्नुपर्ने उहाँले बताउनुभयो ।

मन्त्री शर्माले इकोनले निर्यातको सानो ‘डोरेटो’ निर्माण गरेको भन्नुहुँदै संस्थाको प्रशंसा गर्नुभयो । ‘इकोनले निर्यातको डोरेटो बनाएको छ । यसलाई हाइवेमा नबदलेसम्म हाम्रो व्यापार घाटा अन्त्य हुन सक्दैन’, उहाँले भन्नुभयो, ‘डोरेटो तयार भएकाले अब हामी हाइवेमा बदल्न नयाँ ढङ्गले सोचौँ ।’

उहाँले नीतिगत र संरचनागत सुधारका लागि सकार सधैँ प्रतिवद्ध रहेको पनि स्पष्ट पार्नुभयो । त्यस्तै विगतमा बनाइएका आर्थिक नीति तथा सन्धि सम्झौताहरूको समीक्षा गर्ने समय पनि आएको बताउनुभयो ।


 

 

प्रकाशित मिति: शुक्रबार, पुस २३, २०७८  ०९:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update