Kath khabar
उठेन भ्याट, विकास  निर्माणको सुस्तताले राज्यको आम्दानीमा समेत असर

काठमाडौं, पुष २३ । विकास निर्माणका लागि छुट्टाएको रकम खर्च हुन नसक्दा त्यसको सोझो असर राज्यकै राजस्व संकलनमा समेत परेको छ । विकास खर्च हुन नसक्दा गत वर्षभन्दा कम र यो वर्षकै पनि लक्ष्य अनुरूप मूल्यवृद्धि कर उठ्न सकेको छैन ।

सरकारले यो वर्षका लागि भनेर ४ खर्ब ३९ अर्ब छुट्टाएकोमा अहिलेसम्ममा ३८ अर्ब मात्रै अर्थात बिनियोजित बजेटको जम्मा ८ प्रतिशत मात्रै खर्च भएको छ । जसका कारण  निर्माण व्यवसायीबाट राज्यलाई जाने अभिवृद्धि बापतको रकम जान सकेको छैन । आन्तरिक राजस्व विभागले मंसिर मसान्तसम्म ४९ अर्ब ६९ करोड उठाउने लक्ष्य लिएकामा लक्ष्यको जम्मा ८९ प्रतिशत अर्थात ४४ अर्ब ५३ करोड मात्रै उठेको छ । जबकी यसबाहेक आयकर र अन्तः शुल्क भने लक्ष्य भन्दा पनि बढि उठेको छ ।

विभागले मंसिर मसान्तसम्म ६४ अर्ब उठाउने  लक्ष्य राखेकोमा चार अर्ब बढि अर्थात ६८ अर्ब र अन्तः शुल्क ३६ अर्ब राखेकोमा ३ अर्ब बढि अर्थात ३९ अर्ब उठाएको छ । विदेश पढ्न जाने विद्यार्थीले पनि मुलुकलाई मंसिर मसान्तसम्म २१  करोड २६ लाख रकम   शिक्षा  सेवा शुल्क बुझाएका छन् । यो भने गत वर्षको तुलनामा १० करोड बढि उठेको छ ।

आयकर र अन्त: शुल्क उठ्नुले आर्थिक क्रियाकलापमा महामारीको प्रभाव भने खासै नपरेको देखाउँछ । साथै आयकर बढ्दा आम्दानी बढेको पनि पुष्टि हुन्छ । तर अभिवृद्धि करमा  सरकारले लक्ष्य प्राप्त गर्न नसक्दा भने यसले बाह्य तथा आन्तरिक उत्पादनको खपतमा भने कमी आएको प्रष्ट पार्छ । दैनिक उपभोग्य बस्तु तथा अत्यावश्यक बस्तु बाहेक अन्य बस्तुको खपतमा सरकारले मूल्य अभिवृद्धि कर लगाउने गर्छ ।

 

प्रकाशित मिति: शुक्रबार, पुस २३, २०७८  १०:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update