Kath khabar
अर्थमन्त्री शर्माको मन्त्रालयहरूलाई निर्देशन, ६ महिनामा सत् प्रतिशत पूँजीगत खर्च गरिसक्नु

काठमाडौं, पुस २७। अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले आर्थिक वर्ष २०७८/०७९ को बाँकी छ महिनामा शतप्रतिशत पूँजीगत खर्च गरिसक्न विभिन्न मन्त्रालयलाई आग्रह गर्नुभएको छ। मंगलबार मन्त्रालयमा आर्थिक वर्ष २०७८/०७९ को हालसम्मको खर्चको समीक्षा बैठकमा उहाँले सचिवहरूलाई सो आग्रह गर्नुभएको हो ।

उहाँले आवश्यक परे मध्यरातमा पनि आफू सहयोग गर्न तयार रहेको भन्नुहुँदै जसरी पनि खर्च गर्न आग्रह गर्नुभयो । ‘आर्थिक वर्षको ६ महिना बितिसक्यो । बाँकी ६ महिनामा शतप्रतिशत बजेट खर्च गर्नुपर्छ’, उहाँले भन्नुभयो, ‘त्यसको लागि मैले रातको १२ बजे पनि तपाईँहरूलाई सहयोग गर्न तयार छु ।’

मन्त्री शर्माले बजेट खर्च गर्ने अन्य उपायहरू खोज्न बताउनुहुँदै जसरी पनि खर्च बढाउन आग्रह गर्नुभएको हो । उहाँले ठूला योजनाहरूमा स्थानीय तह र स्थानीय जनतालाई समेत सहभागी गराएर अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । ठूला योजनाहरूमा अपनत्वका लागि उनीहरूलाई सहभागी गराएर मात्र छिटो काम गर्न सकिने उहाँको भनाइ छ ।

त्यस्तै उहाँले विद्यमान प्रणालीमा सुधार गर्नुपर्ने आवश्यकता पनि औँल्याउनुभयो । उहाँले फाइल हरेक मन्त्रालयमा बोकेर हिँड्दा ढिला हुने भन्नुहुँदै अब डिजिटल माध्यममा लैजानुपर्ने बताउनुभयो । ‘फाइल बोकेर विभाग, मन्त्रालय धाउँदा दुईचार दिन जान्छ । यहाँ पनि समय गइरहेको छ’, उहाँले भन्नुभयो, ‘यसलाई डिजिटल माध्यममा लैजानुभयो । डिजिटलमै अनुरोध गर्ने र स्वीकृति गर्ने हुनुपर्यो । टिप्पणी उठाएर राख्ने काम आफ्नो ठाउँमा गर्नुपर्छ ।’

पछिल्लो समय पुँजीगत खर्च बढाउन अर्थ मन्त्रालयले अन्य मन्त्रालयलाई ताकेता गर्दै आएको छ । यसैबीच सोमबारसम्मको तथ्याङ्कअनुसार पुँजीगत खर्च नौ दशमलव ३९, चालु खर्च ३८ दशमलव नौ र वित्तीय खर्च २५ दशमलव ४१ प्रतिशत खर्च भइसकेको छ । समग्रमा हालसम्म २९ दशमलव ११ प्रतिशत बजेट खर्च भइसकेको छ ।


 

 

प्रकाशित मिति: मंगलबार, पुस २७, २०७८  १४:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update