Kath khabar
सरकारको आर्थिक वृद्धिको लक्ष्य सात प्रतिशत, विश्व बैंक भन्छ चार प्रतिशत पनि सम्भव छैन

काठमाडौं, पुष २९ । सरकारले चालु आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको भएपनि  विश्व बैंकले भने नेपालको यो वर्षको वृद्धिदर ३.९ प्रतिशतमा सीमित रहने बताएको छ ।

मंगलबार ग्लोबल इकोनोमिक प्रोसपेक्ट्स अर्थात विश्वव्यापी आर्थिक सम्भावना २०२२ प्रकाशन गर्दै नेपालको आर्थिक वृद्धिदर निराशाजनक रहने प्रक्षेपण गरेको छ ।  सन् २०२३ मा अर्थात् आगामी आर्थिक वर्ष २०७९/८० मा भने नेपालको आर्थिक वृद्धिदर केही सुधार भएर ४.७ प्रतिशत पुग्ने विश्व बैंकको प्रक्षेपण छ ।

विश्व बैंकले विश्व आर्थिक वृद्धिदर २०२२ मा चार दशमलव एक र २०२३ मा ३ दशमलव दुई प्रतिशत कायम रहने जनाएको छ । साथै  विश्वभर महँगी  तथा ऋण बढ्ने र जसले असमानता पनि बढाउँदै लाने बताएको छ। यसले आर्थिक पुनरुत्थानमा  समेत प्रभाव पार्ने  विश्व बैंकको रिपोर्टमा  उल्लेख गरिएको छ । विश्व बैंकले कोभिड-१९ का नयाँ भेरियन्टहरु फैलिएकाले आर्थिक गतिविधि सुस्त हुने र आयमा गिरावट आइ मागमा कमी आउने पनि रिपोर्टमा उल्लेख छ ।

भारत र बङ्गलादेशको आर्थिक वृद्धिदर भने सन् २०२२ र सन् २०२३ मा पनि उच्च रहने प्रक्षेपण छ । भारतको आर्थिक वृद्धिदर सन् २०२२ मा ८.३ प्रतिशत र आगामी वर्ष सन् २०२३ मा ८.७ प्रतिशत हुने प्रक्षेपण छ । सन् २०२१ मा २२ प्रतिशत आर्थिक वृद्धिदर हासिल गरेको मालदिभ्सको आर्थिक वृद्धिदरमा संकुचन आएर सन् २०२२ मा ११ प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण छ ।


 

प्रकाशित मिति: बिहीबार, पुस २९, २०७८  ०९:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update