
काठमाडौं, फागुन १८। रुस-युक्रेन द्वन्द्व प्रभावित ३ सय २ जना नेपाली सुरक्षित गन्तव्यमा पुगेका छन् । रुस-यक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिको बैठकलाई मंगलवार साँझ सम्बोधन गर्दै जर्मनीका लागि नेपाली राजदुत रामकाजी खड्काले हालसम्म युक्रेनबाट नेपालीहरु सुरक्षित स्थानको खोजी गर्दै पोल्याण्ड, स्लोभाकिया, हंगेरी, रोमानिया र माल्दावा लगायतको देशमा पुगेको जानकारी दिनुभयो ।
समितिका अनुसार मंगलवारसम्म २ सय ३२ जना पोल्याण्ड, ३९ जना स्लोभाकिया, ४ जना हंगेरी, २३ जना रोमानिया र ४ माल्दावा पुगेका हुन् । यसअघि, समितिका अध्यक्षसमेत रहेका राजदूत खड्काको अध्यक्षतामा बसेको बैठकले युद्धका कारण विस्थापित नेपालीहरुलाई सुरक्षित स्थानान्तणका लागि आवश्यक पहल गर्ने निर्णय गरेको थियो । बैठकलाई सम्बोधन गर्दै उद्धार समितिका संयोजक तथा एनआरएनएका उपाध्यक्ष डा. बद्री केसीले रुसमा रहेका नेपालीहरूले समेत नियमित रुपमा युक्रेनमा रहेका नेपालीहरूसँग सम्पर्क रहेको जानकारी दिनुभयो ।
उहाँले एनआरएनएका राष्ट्रिय समितिहरू उद्धार कार्यमा सकृय रुपमा लागि परेको जानकारी दिदै एनआरएनए पोल्यान्डको सकृयतामा आर्थिक सहयोग संकलनको तयारी थालिएको जनाउनुभयो । रुसका लागि कार्यवाहक राजदूत सुशील घिमिरेले युक्रेनको राजधानी केभमा रहेका सम्पूर्ण नेपालीहरुले युक्रेन छोडेको जानकारी दिनुभयो। उहाँले पछिल्लो समयमा रुसमा रहेका नेपाली विद्यार्थीहरू चिन्तित रहेर दूतावासको सम्पर्कमा आउन थालेको जानकारी दिनुभयो । उहाँले पश्चिमी मुलुकहरूले रुससँगको हवाई उडानमा प्रतिवन्ध लगाएका कारणले रुसमा बस्ने नेपालीहरुमा समेत संसय थपिएको बताउनुभयो । बैठकमा स्वास्थ्य समितिका संयोजक डा. बोध सुवेदीले गैरआवासीय नेपाली संघले अप्ठ्यारामा परेका नेपालीलाई खाना बस्नको व्यवस्था गरेको जानकारी दिनुभयो । सुवेदीले युक्रेनमा रहेका नेपालीहरूको संख्या सोचे भन्दा अझ बढी हुनसक्ने बताउनुभयो ।
समितिका सदस्य सचिव चिरञ्जीवी खड्काले बैठकमा नेपालहरुको उद्धारको लागि सीमा क्षेत्रमा खटिएको अनुभव सुनाएका थिए । उहाँले अत्याधिक चिसोका कारणले युद्ध पीडित नेपालीहरु थप समस्यामा रहेको जानकारी दिनुभयो । एनआरएनए स्लोभाकियाका प्रतिनिधि जयप्रसाद सिवाकोटीले नेपालीहरुलाई खाना बस्ने र परिचयपत्र लगायत बन्दोबस्तको व्यवस्था मिलाइएको जानकारी दिनुभयो । उहाँले अलपत्र परेर त्यहाँ पुगेका नेपालीहरुले आफ्नो संजाल बनाएर एक अर्कालाई सहयोग गरेको बताउनुभयो। उहाँले युद्ध पीडित नेपालीहरूलाई आर्थिक अभाव रहेको बताउनुभयो । उहाँले आफ्नै रेष्टुरेन्ट खाली गरेर १६ जना नेपालीहरु बस्न र खानाको व्यवस्था गरेको जानकारी दिनुभयो ।
रोमानियाका लागि नेपाली काउन्सिलर नवराज पोखरेलले नवराज पोखरेलले रोमानियमा आएका २३ जना नेपाली सुरक्षित गन्तव्य तिर लागेको जानकारी दिनु भयो । उहाँले केही नेपालीहरू अन्जानमा हंगेरीको सीमामा पुग्दा अलपत्र परेको समेत बताउनुभयो । बैठकमा गैरआवासीय नेपाली संघ चेक रिपब्लिकका अध्यक्ष यदु पन्थी, सुरेन्द्र श्रेष्ठ (हङग्रेरी), सन्तोष भट्राई (जर्मनी) सोनाम शेर्पा (स्लोभाकिया), संजय कार्की (हङगेरी), निलम आचार्य (जर्मनी), लगायतले आफ्नो भनाईहरु राख्नु भएको थियो ।
बैठकमा युक्रेनको युद्धबाट ४ दिन हिडेर बाचेका दाङका बिक्रम खड्काले युद्धमा परेका बेला सामना गरेको कठिनाइ सुनाउनु भयो । उहाँले युक्रेनदेखि हङगेरी पुग्दा बाटोमा बम पड्केको र ठूल्ठूलो आवाज सुनेको अनुभव सुनाउनु भयो ।
यसैबीच गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त युद्ध पीडितको उद्धारको लागि सोमवारदेखि पोल्यान्डको सीमा क्षेत्रमा आफै खटिनु भएको छ भने नेपाली राजदूत रामकाजी खड्काले बुधवारदेखि सीमा क्षेत्रमा आफै खटिएर नेपालीहरूको उद्धार गर्ने तयारीमा लाग्नुभएको युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समिति प्रेस संयोजक चिरन शर्माले जानकारी दिनुभयो ।