Kath khabar
अन्नपूर्ण केबलकारको सूर्यदर्शन सेवा संचालन



काठमाडौं, फागुन ३० । नयाँ पर्यटकीय गन्तव्यका रूपमा थपिएको अन्नपूर्ण केबलकार पोखराले चैत्र १ गतेबाट बिहान ५ बजेदेखि सेवा सञ्चालनमा ल्याउने भएको छ । पोखरा महानगरपालिका–१८ को सेदी बगरमा निर्माण भएको अन्नपूर्ण केबलकार चैत्र १ गतेबाट बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म संचालनमा ल्याउन लागेको केबलकारका महाप्रबन्धक दिनेश पौड्यालले जानकारी दिनुभयो ।

बिहानी सेवा संचालनसंगै पयर्टकहरुले बिहानको सूर्योदयको दर्शन तथा साँझ सूर्यास्तको अवलोकन गर्न सकिने कम्पनीले जनाएको छ । गत फागुन ६ गतेबाट नै सञ्चालनमा आएको अन्नपूर्ण केबलकारको दूरी सेतीबगरदेखि सराङकोटसम्म दुई हजार ४०० मिटर रहेको छ भने सेतीबगरदेखि सराङकोटसम्म लामो समय लाग्ने सडक यात्रालाई केवल नौ देखि १० मिनेट भित्रमा नै पार गर्न  सकिने बनाएको छ । १७ वटा गोन्डोला रहेको र एउटा गोन्डोलामा आठ जना सम्म बसेर सयर गर्न सकिनुका साथै एक घण्टामा ५ सय जनासम्मले यात्रा गर्न सकिने बताईएको छ ।

कम्पनीले नेपालीका लागि रु ७ सय, सार्क राष्ट्रका पर्यटकका लागि रु ८ सय र तेस्रो मुलुकका नागरिकका लागि नौ डलर भाडादर तय गरेको छ । ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिका लागि भने भाडामा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ । यसैगरी विधार्थीका लागि २५ प्रतिशत सहुलियतका साथै सहकारीबाट भमणमा आउने सदस्यहरूलाई १० प्रतिशत छुट को व्यवस्था गरेको कम्पनीले जनाएको छ ।

पोखरा र काठमाडौँका प्रतिष्ठित व्यवसायीको लगानी रहेको अन्नपूर्ण केबलकारको लगानी दुई अर्ब रुपैयाँ लागत पुगेको अन्न पूर्ण केबलकार प्रालिका सञ्चालक एवं निर्देशक तीर्थराज त्रिपाठीले  जानकारी दिए । शुरुमा एक अर्ब ३० करोडको लागत अनुमान गरिए पनि कोभिड १९ को संक्रमणकालिन समय र विभिन्न संरचनाहरुले गर्दा लागत बढेको बताइन्छ । कम्पनीमा स्थानीयवासीबाट २५ प्रतिशत र विभिन्न व्यवसायीबाट ७५ प्रतिशत लगानी गरिएको छ ।


 

प्रकाशित मिति: सोमबार, फागुन ३०, २०७८  १६:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update