Kath khabar
कात्तिक नाचको इतिहास


              ललितपुर, कात्तिक २१ ।  ‘कात्तिक नाच’ संसारकै सबैभन्दा लामो नाट्य महोत्सवका रूपमा परिचित छ । ‘२७ दिनसम्म कात्तिक नाच सञ्चालन हुने भएकाले संसारको सबैभन्दा लामो नाट्य महोत्सव भएको इतिहासमा पनि उल्लेख छ,’ । नेपाल संवत् ७६१ अर्थात् वि.सं १६९७ मा मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले सुरु गरेदेखि हरेक कात्तिक महिनामा चल्दै आएको छ । सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ ‘कात्तिक नाच’ चलाएको जनविश्वास छ ।kartik naaach1667803380.jpg 

नाचको प्रमुख विशेषता भनेको २७ दिनसम्म फरक-फरक कथामा आधारित रहेर नाच देखाउनु हो । कात्तिक महिनामा देखाइने भएकाले यस नाचलाई ‘कात्तिक नाच’ भनिएको संस्कृतिविद्हरू बताउँछन् । कात्तिक नाच संरक्षण समितिका अध्यक्ष तथा कलाकार किरण चित्रकारका अनुसार मल्लकालीन राजा सिद्धिनरसिंहले ललितपुरका जनतालाई भय र त्रासमुक्त गर्न नाच देखाउन थालेको किंवदन्ती छ ।

यस नाचका सर्जक, स्रष्टा एवं प्रवर्तक सिद्धिनरसिंहका शिक्षागुरु पण्डित हरिवंश उपाध्याय र दीक्षागुरु विश्वनाथ उपाध्याय भएको उल्लेख छ । कात्तिक नाच सुरुमा ५ दिन प्रदर्शन भएको थियो । सिद्धिनरसिंहका छोरा श्रीनिवास मल्लले ‘बाथःप्याखँ’ अर्थात् ‘लोक नाटक’, ‘सुदामा प्याखँ’ र ‘सुरदास प्याखँ’ थपेर यसलाई १५ दिन पुर्‍याए ।kartik naaaach1667803415.jpg

कात्तिक नाच नेपालको अमूर्त सम्पदा र परम्परागत संस्कृति भएकाले ३ सय ८० वर्षसम्म नरोकिएको अध्यक्ष चित्रकारको भनाइ छ । ‘हरेक दिनका नाचमा फरक-फरक विषयवस्तु प्रस्तुत गरिन्छ । आज देखाएको नाच भोलि देखाइँदैन । कात्तिक नाच धार्मिक र तान्त्रिक महत्वसँग पनि जोडिएको छ,’ उनले भने । यसलाई नेवार समुदायमा समावेशी नाचका रूपमा पनि  लिइन्छ । जुन जातीय सद्भाव कायम राख्ने माध्यम बनेको छ । मल्लकालीन समयमा ‘कात्तिक नाच’मा मैथिली भाषामा संवाद गरिन्थ्यो । तर, मैथिली भाषा नेवार समुदायमा नबुझिने भएकाले नेपाल भाषामा उल्था गर्न थालिएको हो ।

‘तर, अहिले नाचलाई ८ दिनमा खुम्च्याइएको छ । २००७ सालको जनक्रान्तिपछि यो नाटकलाई केही दिनमा खुम्च्याइयो । २००८ देखि ०३७ सालसम्म २ दिन मात्रै देखाइयो । यी २ दिनमा वराह र नरसिंह अवतार देखाइन्थ्यो ।’
कात्तिक नाच प्रबन्ध समिति गठन भएपछि ०३८ देखि ०६९ सम्म प्रत्येक वर्ष ८ दिन नाच प्रदर्शन भयो । ०७० सालमा २ दिन वस्त्रहरण र बौद्धलीला थपेर १० दिन र ०७१ देखि ०७६ सम्म १२ दिन सञ्चालन भएको थियो । ०७७ सालमा कोभिड महामारीका कारण २ दिन मात्रै नाच देखाइएको थियो । उनी भन्छन्, ‘२००६ सालयता २७ दिन नाच हुन सकेको छैन । २७ दिन गर्न १ वर्ष समय खर्चिनुपर्छ । नाचका लागि अभ्यासमा धेरै समय लाग्छ ।’kartik naaachh1667803460.jpg

२७ दिनसम्म नाच सञ्चालन गर्न आर्थिक अभाव हुने, एउटा नाच देखाउन कम्तीमा २० जना कलाकार चाहिन्छ । ‘हामीले कात्तिक नाचलाई जगेर्ना मात्रै गर्न खोजेका हौँ । यसलाई १ महिनासम्म सञ्चालन गर्न सकिने अवस्था छैन । कतैबाट आर्थिक सहयोग भए २७ दिनसम्म पनि गर्न सकिन्छ । अहिले हाम्रो बुताले मात्रै गरिरहेका छौँ,’ कलाकार शर्माले भने । 

 

प्रकाशित मिति: सोमबार, कात्तिक २१, २०७९  ११:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update