Kath khabar
सन् २०२३ देखि उपत्यकाका सम्पदा क्षेत्रमा साझाका ‘होप अन होप अफ’ सिटी बस सञ्चालन हुने


                काठमाडौँ, मंसिर १९।  काठमाडौँ उपत्यकामा रहेका सम्पदा क्षेत्रको अवलोकन गर्न आउने पर्यटकलाई सहज सेवा दिन ‘होप अन होप अफ’ सिटी बस सञ्चालन हुने भएको छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन पुनरुत्थान कार्ययोजना अन्तर्गत ल्याएको ‘होप अन होप अफ’ सिटी बस सञ्चालन गर्न लागिएको हो । उपत्यकामा रहेका सम्पदा क्षेत्रको अवलोकनमा पर्यटक तथा धर्मावलम्वीहरूलाई सहज बनाउन ‘होप अन होप अफ’ प्रकारको घुम्ती सेवा दिन लागेको पर्यटनमन्त्री जीवनराम श्रेष्ठले बताए । 

पहिलो चरणमा साझा यातायातका पाँचवटा विजुली बस हरेक आधा-आधा घण्टामा पाटन, काठमाडौं दरबार स्क्वायर, पशुपति, बौद्ध र  स्वयम्भु पुग्नेछ । भविष्यमा भक्तपुर चाँगुनारायणसम्म लैजाने योजना पनि रहेको बताइएको छ । 

sajha1670224246.jpg

पर्यटकले बसको एउटा टिकट लिएपछि दिनभरी ‘होप अन होप अफ’का जुनसुकै बस चढ्न पाउनेछन् । करिव ३० किलोमिटर लामो  यात्रा गर्न ३ घण्टा लाग्नेछ । आगामी अंग्रेजी नयाँ बर्षदेखि 'होप अन होप अफ’ सिटी बस सञ्चालन गरिने मन्त्री श्रेष्ठले बताए । 

मन्त्री श्रेष्ठले होप अन होप अफ सिटी बस प्रभावकारी रुपमा सञ्चालन गर्नेबारे सरोकारवालाहरूसँग छलफल समेत गरेका छन् । छलफलमा साझा यातायातका संचालक,  व्यवसायी, विज्ञ तथा ट्राफिक प्रहरी लगायत सरोकारवालाको उपस्थिति थियो । 

मन्त्री श्रेष्ठले काठमाडौंका सांस्कृतिक सम्पदा घुम्न आउने विदेशी तथा स्वदेशी पर्यटकलाई सम्पदा क्षेत्र अवलोकनमा सार्वजनिक सवारी सहज बनाउन ‘होप अन हप अफ’ बस सञ्चालनको अवधारणा ल्याएका हुन् ।

पर्यटकलाई सम्पदा क्षेत्रको अवलोकन गर्न सार्वजनिक सवारी सहज नहुँदा हैरानी खेप्नुपरेको गुनासो आउने गरेको छ । काठमाडौंका विश्व सम्पदा सूचिमा सूचीकृत सम्पदा तथा मुख्य पर्यटकीय क्षेत्रमा 'होप अन होप अफ' बस सञ्चालन भएपछि पर्यटकहरू केही घण्टामै मुख्य पर्यटकीय क्षेत्रको अवलोकन गर्न सक्नेछन् । 

होप अन होप अफका लागि वातावरणमैत्री तथा अन्तर्राष्ट्रिय मापदण्ड अनुरूपका बस सेवा सञ्चालन गरिने साझा यातायात संचालक समिति सदस्य भुषण तुलाधरले जानकारी दिए ।
 

प्रकाशित मिति: सोमबार, मंसिर १९, २०७९  १२:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update